बाँके,जेठ २० । शहरी विकास मन्त्री मो. इस्तियाक राईले सरकारले ल्याएको बजेट समावेशी र जनमुखीरुपमा आएको बताएका छन् । ‘सरकारले जनताले चाहेजस्तो बजेट ल्याएको छ , मन्त्री राईले भने,– बजेटले देशको समृद्धिलाई जोडिएको छ, कार्यान्वयनमा सरकार दृढ छ,।’
सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले कोहलपुर चौराहामा निर्माण गरेको पर्यटकीय पार्कको सोमबार उद्घाटन गर्दै मन्त्री राईले विगतमा जस्तो बजेट कार्यान्वयनमा सरकारले छुट नदिने बताए । ‘अब देशको समृद्धिका लागि कुनै पनि ढिलासुस्ती सरकारलाई मान्य हुँदैन,’ उनले भने । उनले मुलुकको विकासमा अब कसैले अवरोध गर्न नसक्ने बताउँदै बाँके जिल्लामा सबैभन्दा बजेट विनियोजन भएकोले मुलुकको समृद्धिसँगै जिल्लामा पर्याप्त विकासका ढोकाहरु खुलेको बताए ।
बाँके जिल्लाले प्रधानमन्त्री समेत पाउँदा विकासको अनुभूति गर्न नपाएको भन्दै उनले भने, ‘जिल्लाको विकास कसैले रोक्न सक्दैन, तपाईहरु ढुक्क हुनुपर्छ ।’
कोहलपुर चौराहाको निर्माणमा सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले सरकारले ल्याएको समृद्धिको लक्ष्यलाई टेवा पुग्ने गरी सकारात्मक प्रयास गरेकोमा धन्यवाद दिँदै मन्त्री राईले सुखी नेपाली समृद्ध नेपालका लागि निजी क्षेत्रको लगानी अपरिहार्य रहेको बताए । उनले भने, ‘निजी क्षेत्रको सहयोगले सरकारको अभियानलाई सहयोग गर्छ ।’सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले कोहलपुर नगरपालिकासँग सहकार्य गर्दै कोहलपुर चौराहामा ५० लाखको लागतमा पार्क निर्माण गरेको
हो । पूर्व–पश्चिम राजमार्ग र नेपालगन्ज सुर्खेत राजमार्गको मुख्य केन्द्र रहेको पार्कको सौन्दर्यकरणका लागि पानीको फोहरा र अन्य मनोरञ्जनात्मक पूर्वाधारहरु तयार गरिएका छन् । १७ हजार ५ सय वर्गफिटमा फैलिएको चौराहा पार्कको बीचमा बाघको प्रतिमा राखिएको सिद्धार्थ विजनेश ग्रुपका क्षेत्रीय प्रबन्धक केशव न्यौपानेले बताए ।