सोमबार, माघ ५, २०७७ साल

योगिनी कपमा महेन्द्र बहुमुखी क्याम्पसको विजयी शुरुवात

लाेकप्रिय सन्देश २०७६ असोज ११ गते 2.23K
नेपालगञ्ज, असोज ११ । खजुरा गाउँपालिका–२ गौघाटस्थित योगिनी माविको खेलमैदानमा आज भएको नेपाल आईस प्रथम योगिनी कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपालगंज बहुमुखी क्याम्पस (एनएमसी) ले विजयी शुरुवात गरेको छ ।
एक गोलले पछि परेको अवस्थालाई उल्टाउँदै दोस्रो हाफमा थपिएको अतिरिक्त समयमा विशाल थापाले गोल गर्दै टोलीलाई खेलमा फर्काएका थिए । यसअघि खेलको ६० औं मिनेटमा आयोजक योगिनी–एघार ‘ए’ टिमका साजन थापाले दुई विपक्षी रक्षकलाई बिट गर्दै गोलको खाता खोलेका थिए । निर्धारित ७० मिनेटको समयसम्म दुबै टोलीले एक–एकको बराबरी खेलेपछि एन्फा रेफ्री तारा शाहीले सिधै ट्राईब्रेकरबाट नतीजा छिनोफानोको लागि संकेत गरेका थिए ।
 
ट्राईब्रेकरमा आयोजक टिमका कमल रावत, रमेश शाही र रोहित खड्काको प्रहार गोलमा परिणत भएको थियो । साजन थापामगर र गौरब थापामगरले पेनाल्टी खेर फालेका थिए । एनएमसीका लागि मनोज ओली, जीवन तामाङ र विशाल थापाले गोल गर्न सफल भए । सन्तोष सोनीको प्रहार योगिनीका गोलकिपरले रोक्न सफल भए । एनएमसीले आयोजक टोलीमाथि ट्राईब्रेकरमा ४–३ को नतीजा निकाल्दै जित हात पारेको हो । आजको खेलमा एनएमसीका विशाल थापा म्यान अफ दी म्याच घोषित भएका थिए । उनलाई खजुरा गाउँपलिकाका प्रशासकीय अधिकृत बम बहादुर केसी र भेट्रान खेलाडी सुनिल शाहीले सयुक्त रुपमा नगद पुरस्कार हस्तान्तरण गरेका थिए । 
 
भोलि दुई वटा खेलहरु हुनेछन् । पहिलो खेल चन्द्रज्योति युवा क्लब र युथ युनियन क्लबको बीच हुनेछ । त्यसैगरी दोस्रो खेल युगिनी–एघार ‘बी’ टिम र न्यूँ डाँफे स्पोर्टस क्लबबीच हुने प्रतियोगिताका संयोजक तरिन्द्र थापाले जानकारी गराए । 
यसै बीच प्रतियोगिता उद्घाटनपूर्व सम्पन्न मैत्रीपूर्ण खेलमा पत्रकार महिला फुटबल समूह र उद्यमी महिला फुटबल समूहबीच भएको खेलमा पत्रकार समूह विजयी भएको थियो ।   आजका प्रमुख अतिथि प्रतिनिधि सभाका सभासद् नन्दलाल रोकायले यस योगिनी कप फुटबल प्रतियोगिता गौघाटको मात्र गौरब नभएर सम्पूर्ण बाँकेवासीको गौरब हुन सकोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो । 
 
यसै गरी प्रथम योगिनी कप फुटबल प्रतियोगिताका मुख्य प्रयोजक सिजी ब्रोअरी नेपाल प्रा.लि. का म्यानेजर उमेश निरौलाले योगिनी कप फुटबल प्रतियोगितासँग जोडिन पाएकोमा खुशी व्यक्त गरे । यस प्रतियोगिताले खजुरा गाउँपालिका क्षेत्रलाई नै फुटबलमय बनाउन भूमिका खेल्ने अपेक्षा लिएको बताउनुभयो । 
 
प्रतियोगिताको सफलताको लागि खजुरा गाउँपालिकाका कार्यवाहक अध्यक्ष एकमाया विक, सिजी ब्रोअरी नेपाल प्रालिका म्यानेजर उमेश निरौला, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही लगायतले शुभकामना व्यक्त गर्नुभयो । असोज  १७ गतेसम्म संचालन हुने यस प्रतियोगितामा बाँके र बर्दियाका गरी ८ टिमले नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछन । प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले २५ हजार, सर्वोत्कृष्ट खेलाडीले १० हजार, र विधागत रुपमा उत्कृष्ट प्रशिक्षक, गोलकिपर, डिफेन्स, मिडफिल्डर र फरवार्डल समान रुपमा ५ हजार रुपैयाँ, ट्रफी , मेडल, प्रमाणपत्र र पुरस्कार पाउने आयोजक संस्था सहयोगी आवाज (हिप) नेपालले जानकारी गराएको छ । 
 

तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Monday, Jan 18, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१