नेपालगञ्ज,कात्तिक २१ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ धम्बोझी विशालनगर चौक नजिकै निर्माणाधिन स्पोर्टस एकेडेमीले निर्माण कार्यले फेरी तिव्रता पाएको छ । हाल ३ वटा डोजरको सहयोगमा फिल्ड निर्माण कार्य भईरहेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजालले जानकारी दिनुभयो । एकवर्षअघिदेखि निर्माण सुरु भएको सो मैदानमा एन्फा ग्रासरुट फुटबल कार्यक्रम अन्तर्गत १२ बर्ष मुनीका बालबालिकाहरुको फुटबल प्रशिक्षण हुँदै आएकोमा एकेडेमीलाई बृहद बनाउन लागिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ वडा कार्यालयको सहकार्य र समन्वयमा बाँके जिल्ला फुटबल सङ्घले फुटबल एकेडेमी निर्माण सुरु गरेको भएपनि लगत्तै नेपालगञ्ज उपमहानगरपालिकाले प्रदेश सरकारबाट प्राप्त भएको ९९ लाख रुपिया बजेट मैदानका लागि विनियोजन गरेको थियो । आर्थिक वर्षको अन्त्यतिर वजेट आएका कारण निर्माण कार्यमा तिव्रता दिइएपनि केही रकम खर्च हुन सकेन । हाल वडा कार्यालयले समेत बजेट विनियोजन गरेको छ । १५ लाख रुपियामा काम भईरहेको हो । एकेडेमी संचालनका लागि वडा कार्यालयको समन्वयमा स्थानीय गोकुलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले करिब एक विघा कठ्ठा जग्गा भोगाधिकारका लागि बाँके जिल्ला फुटबल सङ्घलाई उपलब्ध गराएको छ । मिनी फुटबल मैदान निर्माणका लागि एन्फाले सुरुवातमा ५ लाख रुपिया बजेटबाट काम सुरु गरेको हो ।
बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले एकेडेमीमा बालबालिकाको सहभागिता उत्साहजनक रुपमा भएको बताउनुभयो । सुरुमा बालबालिकालाई फुटबलमा प्रशिक्षण दिने योजनासहित मिनी फुटबल मैदान निर्माण गर्ने तयारी गरिएपनि अब त्यसलाई स्पोर्टस एकेडेमीको रुपमा विकास गर्न लागिएको छ । मिनी फुटबल मैदानसँगै लंग र सर्ट टेनिश, बास्केटबल, खुला ब्याडमिन्टन कोर्टको निर्माण कार्य भईरहेको छ । टेबुलटेनिश कोर्ट समेत निर्माण गर्न लागिएको छ ।नेपालगञ्ज उपमहानगरपालिकाका प्रबक्ता समेत रहनुभएका वडा अध्यक्ष रिजालले स्पोर्टस एकेडेमीको निर्माण कार्य छिट्टै सकिने बताउनुभयो ।
कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड
सम्पादक : गोविन्द शर्मा
सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१