बिहीवार, भाद्र ३१, २०७८ साल

सरकारको निर्णयले नेपालभित्र हाम्रो सबै ढोका बन्द भयो

प्रशासनमा सकारात्मक सोच भएका मान्छे निकै कम छन् । हामी जनताका सेवक हौं भन्ने भावना अझै पनि छैन । मास्टर हौं भन्ने भावना छ । केन्द्रीयस्तरमा अनावश्यक कर्मचारी थुप्रिएका छन् । कामलाई वस्तुनिष्ठ आधारमा मूल्याङ्कन गर्ने परिपाटी कम छ । हाम्रो कर्मचारीतन्त्र अति राजनीतिकरण, लेथाजिक, डिमोटिभेटेड, नेगेटिभ र निरंकुश शासनमा जस्तो जनताको कुरा नसुन्ने छ ।

युवराज भुषाल. २०७२ चैत्र १९ गते 4.1K

नेपाल राष्ट्र बैंकको गर्भनरदेखि मुख्यसचिवसम्म चर्चामा रहेर पनि अवसरबाट बन्चित भएका पूर्वअर्थसचिव युवराज भुषालले दोहोरो सुविधाको कुरा उठेपछि नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)को वरिष्ठ अध्ययन निर्देशकबाट पनि राजीनामा दिएका छन् । अध्ययनमा हरेक पल्ट  ‘टप’ भुषाल कुशल र सफल प्रशासकको रुपमा समेत चिनिन्छन् । उनी नाताले काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धी हुन । सम्धी भएकैले उनको चर्चासमेत हुँदै आयो । योग्यता र क्षमता हुँदाहुँदै भुषाललाई रोक्न चाहनेहरुले त्यही नातालाई हतियार बनाउँदै आए । उद्यपि भुषालले पौडेलसँग नाता जोडन पाउँदा आफूलाई गर्व रहेको बताउँछन् । प्रस्तुत छ भुषालसँग कर्पोरेट नेपालका सीताराम विलासी र लक्ष्मण काफ्लेले गरेको कुराकानीको सारः

  •  स्टाफ कलेजबाट राजीनामा दिनुभएछ । कारण के हो ? 

दोहोरो सुविधा लिने भन्नेमा १७ जनाको नाम आएको थियो । त्यसमध्ये १६ जनाले पेन्सन छोड्छु भने । मैले सुविधा छोड्छु भने । मैले पेन्सन रोज्नुमा कारण कलेजको नियुक्ति सरकारी होइन । त्यहाँको वरिष्ठ निर्देशक विश्वविद्यालयको प्राध्यापकसरह हुन्छ । स्टाफ कलेजमा जनशक्तिको अभाव भयो भने सरकारसँग लिइन्छ । उसले सरकार र विश्वविद्यालयसँग सचिवस्तर वा प्राध्यापक स्तरको मान्छे मागेको थियो २०७० फागुन १३ गते । त्यसबेला कसैले आवेदन गरेनन । मैले मात्रै गरें । म त्यत्ति बेला योजना आयोगको सचिव थिएँ । जाने बेलामा आफ्नो अनुभव सेयर पनि हुन्छ । सरकारसँग पनि लिंकेज हुन्छ । मलाई राम्रो हुन्छ भन्ने लागेर आवेदन दिएँ । त्यसमा जाँच दिएर पास भएकाले अर्थसचिवपछि स्टाफ कलेजमा पढाउन थालेको हो । अहिले आएर काम गर्दागर्दै सरकारले दोहोरो सुविधा लिइस । एउटा छोड भनेकोले राजीनामा दिएको हो । सरकारको निर्णयलाई सम्मान गर्नैपर्र्यो । 

  • अरु सचिव र प्राध्यापकले यो पदमा आवेदन नगर्नुको कारण के हो ? 

विश्वविद्यालयका प्राध्यापकहरुले नगर्नुको कारण उनीहरुले हप्तामा एउटा कक्षा लिए पुग्ने । स्टाफ कलेजमा बिहान ९ बजे हाजिर भएर बेलुकी ५ बजेसम्म काम गर्नुपर्ने । त्यो भएकाले कुनै प्राध्यापकले आवेदन दिएनन् । सरकारका सचिवहरुले किन हालेनन भने जसले जसले अध्ययन अध्यापन गरिरहेको छ । उसले हाल्ने हो । सबै डायमेनशनमा तालिम दिनसक्ने क्षमता पनि राख्नुपर्यो । अनुसन्धान पनि गर्नुपर्यो । यी कुरामा मेरो कन्फिडेन्स थियो । मैले आवेदन हालें । कन्फिडेन्स नहुनेले हाल्न सक्दैन । 

  • तपाईंलाई मात्रै यो कन्फिडेन्स हुनुको कारण के हो ? 

मेरो कन्फिडेन्सको के हो भने एसएलसी त मैले २०३० सालमा सेकेण्ड डिभिजनमा पास गरेको हुँ । त्यसपछिका सबै डिग्रीहरु फष्ट (प्रथम) हुन । पृथ्वीनारायण क्याम्पसमा प्रमाणपत्र तह स्नातक तहका आठै सेमेस्टर टप गरें । काठमाडौंमा आए २२ वर्षमै लोकसेवा पास गरेर शाखा अधिकृत भइहालें । जागिर र अध्ययनलाई सँगै क्रममा मैले जनप्रशासनमा स्नाकोत्तर गरें । त्यसमा म पहिलो व्याच हो । त्यसपछि बिएल गरें । एमए गरें । यी सबैमा फष्ट भए । बिएललाई त फष्ट क्लास भनेर दिन्थेन । अरुमा दिन्थ्यो । त्यति बेलाको फष्ट ब्वाइ माधव रेग्मी हो । उ अहिले लोकसेवा आयोगको सचिव छ । माधव रेग्मीले ५६ प्रतिशत ल्याएको थियो । मैले ५८ प्रतिशत ल्याएँ । 

त्यही अध्ययनका क्रममा मेरो पाँच वर्ष बित्यो । मैले पुनः लोकसेवा दिएँ । उपसचिव भएँ । पढाई सकिएको थियो । एलडिओ (स्थानीय विकास अधिकारी) भएर जिल्लातिर आठ वर्ष बिताएँ । अहिलेको जस्तो एलडिओ होइन त्यति बेलाको । १९ जिल्लामा नेतादेखि जनताहरुसँग काम गरें । पञ्चहरुसँग चार वर्ष बहुदल आएपछि चार वर्ष । त्यही बीचमा पढन मन लाग्यो मलाई । सरकारले पनि स्वीकृति दियो । जर्मनी गएर पोष्ट ग्राजुयट डिप्लोमा र थाइल्याडको एआईटी (एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी)बाट मास्टर गरें । त्यहाँबाट उत्कृष्ट भएर गोल्ड मेडल (स्वर्ण पदक) पाउन सफल भएँ । २०५३ सालको कुरा हो यो । पछि हिरोसिमा युनिभर्सिटीमा पिएचडी (विद्यावारिधि) गर्न गएँ । 

हिरोसिमा युनिभर्सिटीमा पिएचडी गर्दागर्दै यता मेरो बढुवा भयो । अर्थ मन्त्रालयमा सहसचिव भएपछि लामो छुट्टि नपाइने । के जागिर छोड्नुपर्यो किन पिएचडी । मैले पिएचडी बीचैमा छोडने फर्किएँ । पीएचडी सक्न कम्तिमा छ महिना चाहिन्थ्यो । त्यो पाउने स्थिति थिएन । अर्थमा म बजेट महाशाखामा थिए । त्यहीबाट कलकत्तामा महाबाणिज्यदूत भएर गएँ । त्यहाँ तीन वर्ष बिताएँ । फर्किएपछि सचिव हुनुपर्यो भनेर विमल सर (तत्कालिन मुख्यसचिव विमल कोइराला)लाई भेटेर कुरा पनि गरें । एकै ठाउँमा तीन वर्ष सहसचिव बस्ने म मात्रै थिएँ । पहिला प्रधानमन्त्री कार्यालयमा गणेश भट्टराई दुई वर्ष बस्नुभएको थियो । त्यसपछि शाही काल आयो लोकमानसिंह कार्की मुख्यसचिव हुनुहुन्थ्यो । मलाई भूमिसुधार सचिव भनेर कायममुकायम गर्नुभयो । त्यहाँ हुँदा मैले कही सुधारका काम पनि गरें । शाही सरकार ढलेपछि शाही कालमा सचिव भएकाहरु झार्नुपर्छ भने । म पनि झरें । झरेर म चुप लागिन । विदेशमा जागिर आवेदन गरें । अफगानिस्तानको अर्थ मन्त्रालयमा बजेट सल्लाहकार भएर चार वर्षका लागि गएँ । संचित विदा हुँदासम्म बेतवली विदा लिन नपाइने । संचित विदा भइन्जेल जानु भनेर तत्कालिन मुख्यसचिव भोजराज घिमिरेले भन्नुभयो । 

  • कति बस्नुभयो अफगानिस्तान ? 

एक वर्ष । चार वर्षको प्रोजेक्ट भए एक वर्षमा फर्किनुको कारण छ । त्यही बीचमा सरकारको नेतृत्वमा प्रचण्ड (पुष्पकमल दाहाल) आउनुभयो । उहाँले तपाईंलाई मर्का परेको रहेछ, आउनुस् सचिव हुन भन्नुभयो । उहाँले प्रशासन सुधार आयोगको कामु सचिव बनाउनुभयो । कन्फर्म गर्छु भन्दै हुनुहुन्थ्यो नौ महिनामा आफै राजीनामा दिएर जानुभयो । फेरि कामुबाट झरियो । त्यसपछि माधव नेपाल प्रधानमन्त्री भएको बेला सचिवमा बढुवा भयो । सचिव भएपछि मेरो चाहना अर्थ, स्थानीय विकास, योजना आयोग थियो । तीनवटै पाइएन । वनमा जानु भन्नुभयो । गएँ । मन्त्री दीपक बोहोरासँग काम गर्ने अवसर मिल्यो । त्यसपछि योजना आयोग फर्किएँ । आयोगमा पनि सचिव भएर सबैभन्दा बढी बस्ने म नै थिएँ । म भन्दा पहिला भोजराज घिमिरे बढी समय बस्नेमा हुनुहुन्थ्यो । 

त्यही क्रममा स्टाफ कलेजमा वरिष्ठ अध्ययन निर्देशकको माग भएको हो । त्यतिबेला म साउथ एसियन इन्स्टिच्युटमा पढाउथें । मैले आवेदन दिए । त्यही क्रममा सरकार पनि परिवर्तन भयो । डा. रामशरण महत अर्थमन्त्री भएर आएपछि अर्थमा राम्रो मान्छे चाहियो भनेर कुरा भएछ । भुषालजी राम्रो उपयुक्त मान्छे भन्ने उहाँलाई लाग्यो होला । मलाई ल्याउनुभयो । किनभने पहिला पनि मैले डा महत र महेश आचार्यसँग लामो काम गरिसकेको थिएँ । अन्तिमको करिव चार महिना म अर्थमा काम गर्दै थिएँ , स्टाफ कलेजबाट तपाईं अझै वरिष्ठ निर्देशकमा इच्छुक हुनुहुन्छ भनेर सोध्यो । मैले छु भने । जाँच दिएँ । पास भए । उसले लियो । यो राजनीतिक नियुक्ति थिइन बाहिर आएजस्तो । 

  • सुविधा चाँहीं किन लिनुभयो त ? 

म सचिव हुँदै आवेदन दिएको हो । सुविधा त लिनुपर्यो । मैले अनुमति लिएर गरेको हो । तर यहाँ मिडियाले सोर्सफोर्स लगाएर निर्देशक भयो । सचिव भयो भनेर जथाभावी लेख्यो । नचाहिने र जनतालाई भ्रमित बनाउने हल्ला । सरकारले केही दिनअघि निर्णय गरेर दोहोरो सुविधा लिनेले जुन बढी हुन्छ, त्यो लिनुस भन्यो । मैले भने यो बढी घटीको कुरा होइन । म ३४ वर्ष सरकारी सेवामा काम गरेको मान्छे । पेन्सन मेरो अधिकार हो । अहिले हामीले लिइरहेको वेज (पारिश्रमिक) हो । अपरच्युनिजी कष्ट हो । यसमा तपाईंहरुको टाउको दुखाई छ भने म यो पढाउने जागिर छोडिदिन्छु । पेन्सन खाएर घरमै बस्छु । सरकारले निर्णय गरेपछि केही दिन मैले छोडन मिलेन किनभने तालिम चलिरहेको थियो । घरमा पाउना आयो भन्दैमा हलीले गोरु त्यसै छोडेर त जान मिल्दैन नी ? तालिम हिजो (बुधबार) सकिएलगत्तै मैले राजीनामा बुझाएँ । सरकारको निर्णयको उच्च सम्मान गर्न मैले राजीनामा दिएको हो ।

  • कति समय पढाउनुभयो स्टाफ कलेजमा ? 

करिव २० महिना भयो होला । यहाँ मिडियाले उहाँ (नेता पौडेल)सँगको नाता जोडेर सोर्स लगाएर जागिर खायो । यस्तो गर्यो । उस्तो गर्यो भनेर भोलि अनावश्यक कुरा आउलान भनेर पनि राजीनामा दिएको हो । बाहिर कस्तो भयो भने सचिव पनि म राजनीतिक नियुक्तिबाट भएको हो । सुरुवा बढुवा पनि सबै राजनीतिकरुपमा भएको हो भन्ने जस्तो भयो । जबकी अहिलेसम्म मैले कुनै राजनीतिक नियुक्ति लिएको छैन । 

तपाईं ३४ वर्षको अनुभवमा प्रशासनयन्त्रभित्र सजिलो, अप्ठ्यारो, बिकृति के कति पाउनुभयो ? 

सकारात्मक सोच भएका मान्छे निकै कम छन् । हामी जनताका सेवक हौं भन्ने भावना अझै पनि छैन । हामी मास्टर हौं भन्ने भावना छ । अर्को कर्मचारीको डिप्लोइमेन्ट हेर्दा नेपालको जनसंख्या डेढ करोड हुँदा कर्मचारीको संख्या एक लाख दुई हजार थियो, तीन करोड हुँदा झरेर ८० हजार छ । त्यसमध्ये आधा मध्यमाञ्चल र विशेषगरी काठमाडौंमा छन् । केन्द्रीयस्तरमा अनावश्यक कर्मचारी थुप्रिएका छन् । फ्रन्टलाइनमा मान्छेहरु छैनन् । यसले गर्दा जनताले यथार्थमा सेवा पाउन सकेका छैनन् । जो फ्रन्टलाइनमा गएर काम गरिरहेको छ र सेवा दिइरहेको छ, उसको आचरण र व्यवहारले सरकार र राज्यको इमेज जनतामा जाने हो । त्यसकारण सरकार, राज्य र कर्मचारीको इमेज जनतामा राम्रो छैन । एउटा सानो काम लिनलाई धेरै पापड पेल्नुपर्ने । आफ्नो पदीय हैसियत नभजाउने हो भने निकै दुःख दिने प्रवृत्ति छ । कर्मचारीतन्त्रलाई राजनीतिकरण भएको छ । राजनीतिकरणबाट मुक्ता गर्नुपर्छ । अर्को दण्डहिनताको प्रवृत्ति छ । कामलाई वस्तुनिष्ठ आधारमा मूल्याङ्कन गरिनुपर्छ । सम्वन्धको आधारमा भन्दा पनि गुणदोषका आधारमा मूल्याङ्कन गर्ने हो भने उनीहरुमा आशा हुन्थ्यो । मानिसमा आशा जगाउन सकिएन भने त्यसबाट राम्रो प्रतिफल आउँदैन । 

  • तपाईं अर्थमा पनि बस्नुभयो । विकास निर्माणको कुरामा अर्थ मन्त्रालय नै बाधक हुने गरेको निजी क्षेत्रको गुनासो छ । तपाईंलाई के लाग्छ ? 

जुनबेला म सहसचिव थिएँ । त्यति बेला स्थिति अल्ली सकारात्मक थियो भन्ने मलाई लाग्छ । सहसचिवलाई पर्याप्त अधिकार थियो । मन्त्रीहरुको हस्तक्षेप हुँदैन्थ्यो । सचिवले पनि सबैतिर समन्वय गर्न नभ्याउने भएकाले सहसचिवले अधिकारसहित काम गर्थे । मन्त्रालयमा सबैभन्दा बढी अधिकार सहसचिव, त्यसपछि उपसचिवहरु थियो । म बजेटको सहसचिव हुँदा उपसचिवहरु चारजना थिए । हामी हुने कामलाई त्यही दिनमा टुङ्ग्याएर नहुनेलाई हुन्न भनिदिन्थेउँ । केही अन्योल भयो भने सम्वन्धित मानिसलाई बोलाएर बहस गथ्यौं । बहस गर्दा तर्ससंगत कुरा रहेछ भने पारदर्शी हिसावले टुङ्ग्याइन्थ्यो । हामीलाई दुई अर्बसम्म घाटा बजेट जाने अधिकार थियो । तर कहिले काहीँ चार अर्बसम्म विकास बजेट घाटामा जान्थ्यो । त्यो तरिकाले पुँजीगत खर्च हुन्थ्यो । स्रोतको चिन्ता नलिनु, राम्रो कार्यक्रम लिएर आउनु भनेर काम गर्नेगथ्यौं । म अर्थमा सचिव भएर जाँदा बजेट महाखाशामा मात्रै नौजना सहसचिव पुगेछन् । फाइल सहसचिव र उपसचिवमा सबै अडकिने । माथि पनि पेश नगर्ने आफू पनि मिटिङ नगर्ने । अनि पैसा पनि खर्च नहुने । अधिकार सबै माथि तान्ने । एउटा मोटरसाइकल किन्न पनि अर्थको सहमति चाहिने । खरदार नासु विदेश जानुपर्यो भने अर्थमन्त्रालयमा निवेदन लिएर धाउने । यस्ता रिग्रेसिभ काम भएका रहेछन् । सचिव भएर जाँदा ८२ अर्ब ट्रेजरीमा खर्च नभएर बजेट बसेको थियो । 

यसमा सुधार गर्नुपर्यो भनेर मैले साउन १ गते बजेट खर्च गर्ने अख्तियारी दिँदा नै धेरै खुकुलो बनाइदिए । मैले पछि सुनें ती सुधारका कुराहरु फेरि उस्तै भएको छ भनेर । अर्थ मन्त्रालयका मानिससँग सोचाई अल्ली फरक छ । मैले सर्वसाधारण र अरु मन्त्रालयसँग भन्दा आफ्नै सहकर्मीहरुसँग बढी बहस गर्नुपथ्र्यो । त्यहाँ काम गर्नेहरुले अरु मन्त्रालयका कर्मचारीभन्दा आफूले एक तहमाथि ठान्छन् । फिल्डमा जनतासँग काम गर्ने निकै कम छन् । उनीहरु खुकुरी जस्तो भएर बसेका छन् । अचानो हुन नपरेपछि अनुभव कम हुन्छ । अहिले ७४ अर्ब सरकारले पुनर्निर्माणमा छुट्टाएको छ । त्यसमध्ये ६५ अर्बको अख्तियारी पनि दिइसक्यो । हेर्दैजानुस पाँच अर्ब रुपियाँ पनि खर्च नहोलाजस्तो स्थिति छ । कारण त्यही नै हो । हाम्रो कर्मचारीतन्त्र अति राजनीतिकरण, लेथाजिक, डिमोटिभेटेड, नेगेटिभ र निरंकुश शासनमा जस्तो जनताको कुरा नसुन्ने छ । 

तपाई अध्ययनमा सबै अगाडि हुनुभयो । तर गर्भनरदेखि मुख्यसचिव बन्न बन्चित गरियो । यसबाट तपाईंलाई के महशुस हुन्छ ? 
म सचिव नै हुन्छु भनेर जागिरमा प्रवेश गरेको होइन । काठमाडौं आइयो । जनमत संग्रहको बेला थियो । किर्तिपुर पढन गयो । दिनभरि हडताल हुन्थ्यो । घर जानु पनि के जानु ? त्यही परिभेषमा बरु लोकसेवा दिउँ भन्ने लाग्यो । नत्र मैले एमए पास गरेर दिन्छु भन्ने सोचाई राखेको थिए । परिक्षा दिएको पास भइहालियो । क्रमस सचिव पनि भइयो । ५७ बर्षमै अवकाश भइयो । मुख्यसचिव पनि हुँदैछ भन्ने हल्ला आयो । तत्कालिन मुख्यसचिवलाई सरकारको एउटा साझेदारले मन नपराएर हटाउँदैछ भन्ने हल्ला थियो । त्यसपछि को भन्ने सन्दर्भमा सहसचिवबाट सचिव हुनेमा सबैभन्दा वरिष्ठ म थिएँ । किनभने म त १२ वर्षमा सहसचिवबाट सचिव भएको । मेरो नाम आउनु स्वाभाविक हो । तर बाहिर फलानो (पौडेल)को नातेदार भनेर लेखिदिए । मुख्यसुचिव हुने मलाई सोख पनि थिएन । पालो आयो र दिन्छन भने हुने भन्ने मात्रै हो । त्यसपछि गर्भनरको कुरा आयो । गर्भनर हुन्छु भन्ने मैले सोचेको पनि थिइन । तर त्यहाँ मापदण्ड के बनाइएको रहेछ निजी बैंकमा काम गरेको पनि नहुने । पहिले भएको पनि नहुने जस्ता कुराहरु रहेछ । शर्ट लिष्टमा चिरञ्जीवी नेपाल र म देखियौं । कसैको नातेदार भएकोले म गर्भनर हुन्छु भन्नेर लागेको होइन । मेरो योग्यता मिल्छ । म काम गर्न सक्छु भनेर दिएको हो । त्यो दिने अधिकार त मलाई छ नि । 

गर्भनरकै कुरामा विमल कोइराला पूरानो हुनुभयो भन्ने भयो । शंकर शर्मालाई धेरै सुविधा लिनुभयो भन्ने भयो । रामेश्वर खनाल चुरेमा हुनुहुन्छ । त्यसमाथि काँग्रेसको पार्टीको सदस्य पनि हुनुहुन्छ भन्ने कुरा भयो । त्यो हुँदाहुँदै अन्तिममा एउटा डेपुटी गर्भनरसहित चिरञ्जीवी नेपाल र मेरा नाम आएको हो । चिरञ्जीवीजी र मेरो तुलना हुँदा उहाँले अहिले आठौं राजनीतिक नियुक्ति लिनुभएको छ । मेरो हकमा अर्थसचिव भइसकेको यो व्यक्ति उपयुक्त हुन्छ भन्ने लागेर कसैले हल्ला गरेको हुनसक्छ । मैले भए ठिकै छ नभएपनि ठिकै छ भन्नेमा थिए । कसैलाई मैले भन्न गएको पनि होइन । प्रधानमन्त्रीकै सल्लाहकार भएकाले प्रधानमन्त्रीले उहाँलाई चुन्नुभयो । मलाई त्यसमा केही गुनासो छैन । एउटा हिउँदले जाडो जाँदैन । अहिले नहुँदैमा पछि नहुने भन्ने होइन । म आध्यात्मिक मान्छे पनि भएकाले यस्तो कुरामा चिन्ता लिन्न । 

  • रामचन्द्र पौडेलले निकै दबाब दिनुभयो अरे नि त तपाईंलाई बढाउन ? 

कहाँ दबाब दिनु ? उहाँलाई यो कुरा थाहा पनि छैन । पत्रिका पढेर थापा पाउनु भयो कि ? एउटै पार्टीको वरिष्ठ नेताहरु भएकोले उहाँहरुबीच कुरा भयो भएन म भन्न सक्दिन । तर मन्त्रिपरिषदमा प्रधानमन्त्री सर्वेसर्वा हुन्छ । उहाँले आफ्नो सल्लाहकारलाई नबनाएर अरुलाई बनाउने कुरै हुन्न नि । 

  • भनेपछि यस्तो नियुक्तिमा को क्षमतावान भन्दा पनि प्रधानमन्त्रीलाई जो ठिक लाग्यो, त्यही हुने रैछ ? 

हाम्रो प्रधानमन्त्रीय पद्दतीमा त्यही हो । क्षमता भन्ने कुरा त जनताले हेर्ने । मूल्याङ्कन गर्ने कुरा हो । 

  • अबको तपाईंको योजना के छ त ? 

अहिले मैले केही सोचेको छैन । मलाई अहिले के महशुस भयो भने पब्लिक क्षेत्रको नियुक्तिमा हामीहरुलाई करिव करिव निशेष गरेजस्तो लाग्यो सरकारको पछिल्लो निर्णयले । के पेन्शन छोड के पेन्शन लिएर स्वयमसेवक बन भनेजस्तो लाग्यो । यस्तो नियुक्तिमा भागबण्डाको कुरा पनि छ र अरु कुराहरु पनि छ । जुन सबैले बुझेको छ । म त्यो दौडमा छ्रैन । राज्यलाई आवश्यक पर्यो भने जतिसुकै जटिल काम भए पनि सित्तैमा म गर्न तयार छु । तर आफूले आवेदन दिएर परिक्षामा पास भएर पढाइरहेको ठाउँमा दोहोरो सुविधा भयो भनेपछि के भन्नु ? मैले मध्यपश्चिम विश्वविद्यालयअन्तर्गतको एउटा कलेजमा पनि पढाइरहेको थिएँ । त्यसमा पनि अब गर्न मिलेन । त्यो पनि लाभको पद भयो । अदालतले फैसला नगरेसम्म सरकारको यो निर्णयले प्रतिवन्ध लगायो । यसबाट सरकारी नियुक्तिमा हाम्रो संभावना भएन । 

यहाँ पुगेपछि कुनै निजी क्षेत्रमा काम गर्न जाने कुरा पनि भएन । एनजिओमा पनि भएन । उनीहरुले त धेरै आग्रह पनि गर्थे । मैले नाई भन्दै आएको हो । दाताहरुकोमा पनि म परामर्श दिन किन जान्न भने योजना आयोगको सदस्य सचिव हुँदा २०१३ देखि २०१७ सम्मको युनाइटेड नेशन डेभलपमेन्ट असिस्टेन्ट फ्रेमवर्क बनाउँदा पूरै पुर्नलेखन गराउन लगाएको मैले हो । रोवर्ट पाइपर एण्ड कम्पनीले धेरै विवाद ल्याएका थिए । त्यसमा हामीले सुधार गर्यौं । त्यस विषयमा कसमस विश्वकर्माले मिडियाहरुमा लेखहरु पनि लेखेका थिए । मुलुकलाई अर्कै दिशामा लानेखालको थियो त्यो फ्रेमवर्क । त्यो कारण नेपालका कुनै एजेन्सीमा जागिर देउ भन्दिन । अब मैले गर्ने भनेको आमा ८७ वर्षको हुनुहुन्छ । उहाँको सेवा गर्ने बस्ने हो । नेपालका सबै ढोका बन्द भएकोले अन्तर्राष्ट्रियस्तरमा कुनै अवसर पाइयो भने जानसक्छु । जहाँ गएर पनि काम गर्नसक्ने क्षमता छ मसँग । अफगानिस्तानमा मैले राम्रो गरेको थियो । महिनाको १५ हजार डलर बचत हुन्थ्यो । देशको सेवा गर्न भनेर बोलाइयो फेरि ढाका बन्द भयो । 

  • पौडेलसँग नाता नजोडिएको भए म माथि जान्थें भन्ने भित्र कतै लाग्छ ? 

मलाई लाग्दैन । किनभने म सचिव भएपछि नाता जोडिएको हो । कतिपय मिडियाले नाताकै कारण सचिव भएको भन्ने ढंगले लेख्छन् । त्यो मप्रति लक्षित भन्दा पनि उहाँ (पौडेल)प्रति लक्षित हो । नाता जोडिएकोले व्यक्तिगत रुपमा मलाई कुनै घाटा छैन । मलाई गर्व नै छ । मेरो हाइट बढाएको छ । उहाँ निश्कलंक मान्छे लाग्यो । मेरो छोरीको विहे गर्नुपर्ने थियो । कुनै सुत्रबाट आयो । मैले हुन्छ भने । अरु नेताजस्तो भएको भए मैले छोरि दिन्थिन । मलाई आफूमा विश्वास छ । 

  • तपाईंले ढोको बन्द भयो बाहिर जान्छु भन्नुभयो । फेरि पनि भित्रबाटै अफर आयो भने के गर्नुहुन्छ ? 

मलाई मिल्दो जब भयो भने । किनभने समाजले एउटा हाइट त दिएको छ नि । गर्भनर वा मुख्यसचिवमा प्रतिस्पर्धा गर्न योग्य हुनु भएको त्यो एउटा हाइट त हो । यद्यपि मलाई कसैले छनोट गरेनन् । मलाई मिल्दो कामका लागि आग्रह भयो भने विचार गर्न सकिन्छ । 


    तपाईको प्रतिक्रिया

    Copyrights © 2021 Lokpriyanews

    Thursday, Sep 16, 2021

    कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

    सम्पादक : गोविन्द शर्मा

    सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१