बिहीवार, भाद्र ३१, २०७८ साल

हात थाप्ने होइन, आफै सिर्जना गर्न सामाजिक उद्यमशीलता

नरोत्तम अर्याल. २०७३ आषाढ १५ गते 4.74K

नेपालको शिक्षा पद्दती कस्तो हुनुपर्छ ? भन्ने सन्दर्भमा बहस चलिरहेको बेला एक निजी शैक्षिक संस्था किङ्क कलेजले शिक्षालाई सामाजिक उद्यमशीलताको नयाँ अवधारणासहित अध्ययन अध्यापन गराउँदै आएको छ । हाम्रो शिक्षा निर्वाहमूखी वा बेरोजगार उत्पादन गर्ने भन्दा पनि समाजको आवश्यकता, मुलुकको संभावना सुहाउँदो हुनुपर्छ भन्ने कलेजको मान्यता छ । यसै अवधारणालाई प्रवद्र्धन गर्न कलेजले बिहीबारदेखि राजधानीमा अन्तर्राष्ट्रिय सामाजिक उद्यमशीलता सम्मेलन पनि गर्दैछ । यीनै सेरोफेरोमा किङ्स कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्यालसँग कर्पोरेट नेपालका सम्पादकद्धय सीताराम विलासी र पुरुषोत्तम खत्रीले गरेको कुराकानीको सार प्रस्तुत छः 

  • सामाजिक उद्यमशीलता सम्मेलन गर्दै हुनुहुन्छ । कस्तो सम्मेलन हो यो ? 

भूकम्पपछि पुनर्निर्माण कुरा आइरहेको बेला अब विकासको मोडलमा पनि आधारभूत रुपमा पुर्नविचार गर्नुपर्ने देखिएको छ । अर्को कुरा उद्यमशीलता नभई मुलुकको विकास हुँदैन । हामीसँग यति धेरै स्रोत र संभावनाहरु छन् । तर त्यो उपयोग हुन सकेको छैन । विकास हुन सकेको छैन । यो किन भएन ? भने उद्यमशीलताको खाँचो हो । सही अर्थको उद्यमशीलता । हाम्रोमा व्यापार मात्रै धेरै भयो । उद्यममा भन्दा पनि आयातमा रमाउने बढी भयो । यस्तो उद्यमशीलताको विकास गरौं कि जसले हाम्रो आर्थिक सामाजिक समस्या सम्बोधन गर्न सकोस । यो सम्मेलन त्यसैमा केन्द्रीत हो । 

सामाजिक उद्यमशीलताले के गर्छ भने नाफा पहिलो उद्देश्य नभएर सामाजिक समस्या, सिमान्तकृत तथा उपेक्षित समुदायको समस्या समाधान मुख्य उद्देश्य हुन्छ । तर यसमा एनजिओ आइएनजिओले जस्तो कसैको सहयोग लिएर होइन कि आत्मनिर्भर मोडलमा गर्नुपर्छ । नेपालमा यो जरुरी पनि छ । सामाजिक उद्यमशीलतामार्फत नेपालमा कसरी प्रवद्र्धन गर्ने भन्ने सन्दर्भमा सम्मेलन गर्न लागेको हो । 

  • हाम्रा व्यवसायीहरु उत्पादनमूखीभन्दा पनि आयातमूखी बढी भयो भन्ने कुरा उठिरहेको सन्दर्भमा तपाईंले भनेको सामाजिक उद्यमशीलताको विकासले यसमा केही सुधार ल्याउन सक्छ ? 

मैले त्यही भन्न खोजेको हो । उद्यमशीलता नभई आयात मात्रै गरेर देश विकासको संभावना छैन । जे कुरा पनि बाहिरबाट मगाउने तर मुलुकै वस्तु तथा सेवाको उत्पादन नगर्ने, सम्पत्तिको सिर्जना नगर्ने हो भने त्यो अर्थतन्त्र बलियो हँदैन । दिगो हुँदैन । मुलुकको विकास गर्दैन भन्ने सन्दर्भमा हामीले सामाजिक उद्यमशीलताको कुरा गरिरहेका छौं । उद्यमशीलता मात्रै भने हुन्छ नि किन सामाजिक उद्यमशीलता ? भन्ने प्रश्न आउँछ । अहिले विश्वभर नै के छ भने बजारले सम्बोधन गर्न नसकेका धेरै कुराहरु हुन्छन् । राज्यले पनि गर्न सकेको हुँदैन धेरै कुराहरु । ती कुराहरुलाई सामाजिक उद्यमशीलतामार्फत समाधान गर्न सकिन्छ । यसलाई हामीले सजिलो तरिकाले बुझन ‘विन विन सिचुयशन’ हो । म कुनै व्यवसाय गर्छु । तर मेरो पहिलो उद्देश्य खल्ति मात्रै भर्ने होइन कि समाजको समस्यालाई पनि सम्बोधन गर्छु । त्यो गर्ने भनेको हात थापेर होइन । त्यहीबाट सिर्जना गरेर गर्ने हो । विकासको उत्तम मोडल लागेर नै हामीले सामाजिक उद्यमशीलता भन्दै आएका हौं । 

यस्तो मोडल त सरकारले प्रवद्र्धन गर्दा राम्रै हुन्थ्यो होला । तपाईंहरु एउटा निजी शैक्षिक संस्थालाई किन चासो लाग्यो ? 
उच्च शिक्षामा विश्वभर हेर्ने हो भने यस्ता शैक्षिक संस्थाहरुले यस्ता सोचको नेतृत्व गरेकै हुन्छ । सबै कुरा सरकारले गरिदिए त समस्यै समाधान भइहाल्थ्यो । त्यो संभव हुने कुरा होइन । सरकारले के चाहदैन । के गर्न सक्दैन । दुवै पनि हुन्छ । यस्तो अवस्थामा निजी क्षेत्रले पहलकदमी लिएर काम गर्नुपर्छ । शैक्षिक संस्थाको दायित्व पनि हो कुनै क्षेत्रमा ज्ञानको सिर्जना गर्नु र वितरण गर्नु । 

  • हाम्रो निजी क्षेत्रको शिक्षा एकदमै नाफामूखी मात्रै भयो । सेवामूखी हुन सकेन भन्ने चर्को आवाज उठिरहेको छ । तपाईंलाई त्यो लाग्दैन ? 

त्यो विषयभन्दा पहिला शिक्षा किन यस्तो भन्ने कुरामा म जान चाहान्छु । यसमा निजी क्षेत्रलाई मात्रै दोष दिन त मिल्दै मिल्दैन । पहिला त शिक्षाको विकासमा राज्यले दायित्व लिनुपर्छ नि । यतिसम्म राज्यले निःशुल्क गर्ने । यसरी विकास गर्ने भन्ने कुरा विश्वभर राज्यले गर्ने कुरा हुन । जब राज्यले त्यो कुराहरु गर्न सक्दैन, त्यसको प्रतिक्रियामा निजी क्षेत्र आउने हो । नेपालको हकमा त प्रष्ट छ सरकार शिक्षामा प्रभावकारी हुन सकेन । भ्रष्ट भयो । गुणस्तर ल्याउन सकेन । अनि निजी क्षेत्रलाई खुला गर्न बाध्य भयो । अहिले शिक्षामा निजी क्षेत्रको ठूलो योगदान छ । तर तपाईंको प्रश्नमा पनि एउटा कुरामा म सहमत छु । सही गन्तव्यलाई समाउन नसक्दा ब्यापारिकरण बढि भएको छ । 

विद्यालय शिक्षामा हेर्ने हो भने ८० देखि ८५ प्रतिशत विद्यार्थी सरकारी विद्यालयमा पढछन् । बाँकी निजी विद्यालयमा पढछन् । एकछिन निजी क्षेत्रलाई झिकिदियौं भने परिक्षाको नजिता र गुणस्तरको हालत के छ ? देखिहाल्नुहुन्छ । यो स्थितिमा राज्यलाई अरु भार थमाइदिएर केही काम हुँदैन । निजी क्षेत्रले जति गरेको छ, अति राम्रो गरेको छ । तर शिक्षा र स्वास्थ्यलाई अन्य नाफामूलक क्षेत्रसँग तुलना गर्न मिल्दैन भन्ने कुरामा म पनि प्रष्ट छु । मैले कार्यक्रमहरुमा पनि भन्ने गर्छु । सँगसँगै निजी क्षेत्रले गर्नु नै हुँदैन भन्ने कतिपय सोचाई पनि देखिन्छ, त्यो महाभुल हो । आफू पनि गर्न नसक्ने, निजी गर्नु हुँदैन भन्नुु गलत हो । राम्रो गर्नलाई पो प्रेरित गर्नुपर्यो । भूकम्प पीडितलाई खासै केही गर्न सकेन भनेर सरकार नै हटाउने त ? त्यो होइन । कमजोरी र समस्यालाई सुधार गर्दै जाने हो । 

  • सरकारको कमजोरी छ । त्यसलाई देखाएर निजी क्षेत्र बढि नाफामूखी हुने कुरा उचित हो र ? 

त्यो उचित होइन । अर्कोले गल्ति गरेको छ भनेर मैले पन गल्ति गर्नुपर्छ भन्ने होइन । मैैले भन्ने खोजेको निजी क्षेत्र खत्तम भयो त्यसकारण उसलाई अनुमति नै नदिउँ न त ? के समस्या समाधान हुन्छ त ? हुँदैन । निजी क्षेत्र भनेको अर्के संसारका मानिस त होइन । नहुने भइसकेपछि निजी क्षेत्रलाई हटाउने होइन । प्रोत्साहन गर्नुपर्छ । सँगै नियमन गर्नुपर्छ । नियमन चाँही नगर्ने गरे पनि गलत अर्थमा गर्ने अनि निजी लगानीलाई हटाउँदै लैजाने भनेर अहिले शिक्षा ऐनमा जुन ढंगले कुराहरु आएको छ, त्यो अति गलत हो । 

  • भन्नाले सरकारी नियमन नै फितलो छ भन्ने तपाईंको कुरा हो ? 

नियमनमा दुईवटा कुरा छ । पहिलो कुरा कानुन नै कमजोर छ । दोस्रो भएको कानुनको कार्यान्वयनको स्थिति के छ, सबैलाई थाहा छँदैछ । 

  • नयाँ शिक्षा ऐन आएको छ । यसका सकारात्मक र नकारात्मक पक्ष के के छन् ? 

मैले सबै हेर्न त पाएको छैन । यो ऐनले बढि विद्यालय शिक्षालाई हेर्ने भएकोले पनि हो । तर मैले जाने बुझेअनुसार यो ऐनअनुसार निजी लगानी चाँही शिक्षा क्षेत्रमा नआउने भएको छ । यसमा रमाइलो कुरा के छ भने भइरहेको कुरा त्यही हुने नयाँ आउनेलाई चाँही नहुने अरे । यो जस्तो सिण्डिकेट र कार्टेलिङ अरु के हुनसक्छ । राम्रो गर्न लागेको हो वा झन नराम्रो गर्न खोजेको हो बुझ्नै सकिएन । शिक्षामा निजी लगानी आउँदैमा बिग्रिने भन्ने होइन नि । कसरी गर्ने भन्ने कुरा मात्रै हो । यहाँ हाम्रो चिन्तन के छ भने निजी क्षेत्रले गर्ने बित्तिकै बिग्रिन्छ भन्ने छ । सरकारले आफ्नो लक्ष्यमा निजी क्षेत्रलाई पनि लाने हो । किन भने शासन त सरकारले गर्ने हो नि । हाम्रो शिक्षा नीति यस्तो छ यो लाइनमा काम गर्नुपर्छ भनेपछि त निजी क्षेत्रले पनि त्यही लक्ष्यमा काम गथ्र्यो । तर हाम्रो सरकार र हाम्रो नीति चाँही कस्तो भयो भने त नगर । भएन । हुँदैन भन्ने नकारात्मक मात्रै भयो । के अहिले खुलेका उद्योगधन्दा व्यापार व्यवसाय सरकारले चलाएर चलेको छ त ? सार्वजनिक संस्थानहरुको हालत देखिहाल्नु भएको छ । हाम्रै आँशा अगाडि हेर्नु न नेपाल औषधि लिमिटेडको हालत । सुचना प्रविधि पार्कको हालत हेर्नुस । यो भनेको राज्य भर्सेस निजी क्षेत्र भन्ने होइन । राज्य भनेको त सहजकर्ता, संरक्षक र नियमक हो । 

अर्को कुरा के पनि छ भने जस्तो किङ्स कलेजलाई अनुमति दिने पनि सरकार । यो यो भयो भने दिन्छु भएन भन्ने दिन्न भने पनि उही हो । दिइसकेपछि प्रत्येक वर्ष नवीकरण गर्नुपर्छ । राम्रो काम गरेको छैन भने नवीकरण नगरिदिए हुन्थ्यो नि त । त्यो पनि छैन । अहिलेसम्म सुन्नुभएको छ नराम्रो काम गरेकोले नवीकरण नगरिएको भनेर । राम्रो गर्नेलाई पनि एउटा नराम्रो गर्नेलाई पनि एउटै व्यवहार । राम्रो गर्नेलाई त पुरस्कृत नै गरिदिए राम्रो हुन्थ्यो । त्यो पनि छैन । हाम्रै कलेजको कुरा गर्दा विदेशी सम्वन्धन भएकोले हामीले तीन पटक कर तिर्नुपर्छ । एउटा शिक्षा कर भनेर एक प्रतिशत लाग्छ । नवीकरण गर्न प्रत्येक वर्ष प्रत्येक विद्यार्थीबाट एक हजार पाँचसय शिक्षा मन्त्रालयलाई बुझाउनुपर्छ । तर कर तिरेवापत हामीले पाउने एउटै लाभ देखाइदिनु त । केही पनि छैन । तै पनि गाली गर्न छोडेको हुँदैन । कुनै कलेज राम्रो होला । कुने नराम्रो होला । तर समग्र निजी क्षेत्र नराम्रो भन्ने त होइन । सबै नेपाली चोर भन्न मिल्छ र ? 

  • नेपाललाई पनि शिक्षाको हब बनाउने भन्ने कुराहरु सुनिन्छ । त्यो संभव छ ? 

त्यो अहिले संभव छैन । किन भनेर सोध्नु न मलाई । सबै कुरा ठिक भएपछि पो हब हुन्छ । बाहिरको विद्यार्थी त्यसै आएर बस्छ र यहाँ ? न बाटो छ । न बत्ति छ । पानी छैन । सेवा सुविधा छैन । सबै कुरा राम्रो भए आउँछन विद्यार्थी । सिंगापुरमा जस्तै यहाँ पनि राम्रो सेवा सुविधा हुने हो भने नेपाल हब हुन नसक्ने कुरै छैन । हब हुन आवश्यक पूर्वाधारहरु ठिक हुने हो भने हाम्रोमा बाताबरण ठिक छ । लागत कम छ । विश्वभरका विद्यार्थी आउने अवस्था बन्थ्यो । 

  • अहिले कति विद्यार्थी बाहिर गइरहेका छन । जानकारी छ तपाईंलाई ? 

आइरहेको हुन्छ नि तथ्याङ्क वर्षको ३०÷४० हजार विद्यार्थी बाहिर अध्ययन गर्न जान्छन भनेर । हामीले पनि शिक्षा विभागहरुको तथ्याङ्क हेर्ने हो । 

  • यसलाई रोक्ने कुनै उपाय हामीसँग छैन है ? 

यो एकदम धेरै सोधिने प्रश्न हो । रोक्नलाई नै विदेशी सम्वन्धनका कलेजहरु यहाँ खोलिएका हुन्छन् । यहाँ उल्टै विदेशी सम्वन्धन ल्यायो भनेर गाली गर्छन । हजारौं विदेश जाँदा चिन्ता छैन । विदेश जाने कुरा एक÷दुई कलेजको प्रयासले रोकिने कुरा होइन । धेरै कारणले विद्यार्थी बाहिर गएको हुन्छ । यसको अध्ययन नै गर्नुपर्छ । एउटा राम्रो विद्यार्थीलाई अमेरिकाको हार्डवर्क विश्वविद्यालयले छात्रवृत्ति दिन्छ भने उ किन यहाँ बस्छ र ? अर्को पढन कम बस्ने बढि गएको हुन्छ । अवसर र सोखका कारण पनि बाहिर जान रुचाइन्छ । यस्ता धेरै कारण छन् । यहाँ न अनुशासन छ । न अवसर छ । न सुरक्षा छ ।  न गरिखान दिने अवस्था छ । त्यो कारण बाहिरै धेरै आकर्षित हुनु स्वाभाविक हो । यहाँ एउटा व्यवसाय चलाउनुपर्यो वा अफिस चलाउनुपर्यो भने स्थानीय गुण्डादेखि राजनीतिक दललाई चन्दा दिनुपर्छ । उनीहरुको दशैं मनाइदिनुपर्छ । 

  • किङ्स कलेजको कुरा गरौं । यो कलेज र अरुमा के फरक छ ? 

हामी उद्यमशीलतालाई जोड दिन्छौं । सबैभन्दा ठूलो भिन्नता एक शब्दमा त्यही हो । दोस्रो शिक्षा हाम्रो लागि लाइफटाइम प्रोजक्ट हो । तेस्रो जुन ढर्राबाट हाम्रो शिक्षा पद्दती चलिरहेको छ, त्यो काम छैन । त्यो भनेर अरुलाई नराम्रो भन्न खोजेको होइन । मैले भन्न खोजेको हाम्रो शिक्षा जुन ढंगले चलेको छ, त्यो पूरातनवादी छ । हाम्रो शिक्षालाई एक्कासौं शताब्दी सुहाउँदा बनाउन यसलाई हाम्रा समाजिक समस्या, स्रोत साधनसँग जोडिन सक्दैन भने त्यसले नजिता दिँदैन । हाम्रो शिक्षा यहाँकाृ पर्यटन, बैकिङ, उद्योग व्यवसाय, प्र्रशासनलाई काम लाग्नुपर्यो । बिबिए वा एमबीए गरेका प्रमाणपत्र बोकेर मात्रै केही हुँदैन । 

  • के के प्रोग्राम सञ्चालन गर्नुभएको छ ? 

एमबीए इन्टरप्रेनरशीप छ । अनि एमबीए, बीबीए छ । प्रोग्राम के के छन् भन्दा पनि यसलाई कसरी सञ्चालन गरिन्छ ? यो महत्वपूर्ण हो । प्रोग्रामहरुलाई समाजसँग कति सान्दर्भिक बनाइएको छ ? विद्यार्थीहरुले सामाजिक मुद्दाहरुलाई कति रेस्पोन्स गर्छन ? त्यो यो महत्वपूर्ण कुरा हो । यो भनेको कस्तो भने हिजो जस्तो कक्षा कोठामा पढने, अन्तिममा जाँच दिने र पास हुने शिक्षाले कामै छैन । यही भएर नै हाम्रो शिक्षा पद्दतीको बढि आलोचना हुने गरेको हो । हाम्रो शिक्ष पद्दती गरि खाने भन्दा पनि टाइ लगाउन सिकायौं, टोपी लगाउन सिकायौं । डिग्रीको प्रमाणपत्र बोकेर बस्न पाए पुग्ने । न केही कुरा जान्नुपर्ने । न केही दायित्व निर्वाह गर्नुपर्ने । अध्ययनबाट सिकेको सीप र ज्ञानलाई हाम्रा प्राकृतिक स्रोत साधनसँग कसरी जोडने ? समाजसँग कसरी जोडने भन्ने पो हुनुपर्छ । हाम्रो शिक्षा पढाई भन्दा पनि सिकाईमुखी हुनुपर्यो । शिक्षकले पढाउने विद्यार्थीले लेख्ने मात्रै होइन । 

  • कति भयो तपाईं शिक्षा क्षेत्रमा लागेको ? 

मैले सन् १९९९ तिर त्रिभुवन विश्वविद्यालयबाट स्नाकोत्तर गरेको हो । त्यसपछि म यही क्षेत्रमै छु । बीचमा म केही समय चौधरी समूहको एजुकेशन सिस्टममा पनि काम गरें । सन् २००६ मा नर्वेमा पढन गएँ । 

  • तपाईंको योजना पनि त होला नि यो संस्थालाई यति समयमा यहाँ पुर्याउछु भन्ने ?  

योजना एकदम सरल छ । हुन त सबैले त्यही एउटै कुरा भन्ने भएकोले भन्न अप्ठ्यारो लाग्छ । मेरो योजनाको कुरा गर्दा पहिलो कुरा नेपालको शिक्षाको ‘ग्लोबल एक्सपोजर’ छैन । विभिन्न संस्थाहरुसँगको सहकार्यमा त्यो एक्सपोजर चाहियो । दोस्रो हाम्रोमा रिसर्च एकदमै कम छ । रिसर्चमुखी बनाउन पर्यो भनेर नै हामीले अन्तर्राष्ट्रिय सम्मेलन पनि गर्न लागेको हो । हामी जर्नल पनि निकाल्दै छौं । र पाँच वर्षमा विश्वविद्यालय नै स्थापना गर्ने सोचमा छौं ।

तस्विरहरुः द्धारिका काफ्ले


    तपाईको प्रतिक्रिया

    Copyrights © 2021 Lokpriyanews

    Thursday, Sep 16, 2021

    कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

    सम्पादक : गोविन्द शर्मा

    सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१