बिहीवार, भाद्र ३१, २०७८ साल

‘अब सेयरका लागि घन्टौं लाइन बस्नुपर्ने बाध्यता अन्त्य हुनुपर्छ’

लाेकप्रिय सन्देश २०७३ श्रावन १६ गते 5.74K

मर्चेन्ट बैकिङ कम्पनी के हो ? यिनीहरुले के कस्तो काम गर्छन भन्ने कुरामा अझै धेरै मानिसहरुमा अनविज्ञता देखिन्छन् । नेपालको पुँजीबजारको दायरा वृद्धिसँगै यस्ता कम्पनीहरुको संख्या पनि थपिने क्रम जारी छ । मर्चेन्ट बैकिङ भनेको बैंकमा काम गरेर अनुभवबाट खारिएका थिङ्क ट्याङ्कहरुले काम गर्ने ठाउँको रुपमा हेरिन्छ । तर नेपालमा भने यसको दायरा निकै सीमित गरिएको अवस्था छ । यसै सन्दर्भमा कर्पोरेट नेपाल डटकमद्धारा न्यूज२४ टेलिभिजनमा हरेक शुक्रबार राति ९ बजे र शनिबार बिहान १०ः३० बजे प्रसारण हुँदै आएको आर्थिक बहस कार्यक्रम कर्पोरेट नेपालको गत शुक्रबारको कार्यक्रममा नेपाल एसबिआई मर्चेन्ट बैकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेसँग गरिएको अन्तवार्ताको सार प्रस्तुत छः 

  • मर्चेन्ट बैंकिङ कम्पनी भनेको के हो ? यसले गर्ने कामहरु के के हुन ? 

मर्चेन्ट बैंकिङ कम्पनी भनेको पुँजीबजारको सहजकर्ता हो । अर्थतन्त्रमा, खासगरी लगानी प्रवद्र्धनमा, मनी मार्केट र क्यापिटल मार्केटको अहम भूमिका हुन्छ । मनी मार्केटले अल्पकालिन लगानीसँग सम्बन्धित साधन अर्थात इन्सटुमेन्टसको बिक्री वितरणका लागि बजार अर्थात फ्लोर प्रदान गर्दछ जुन तपाई हामीले सहजै बुझ्ने बैंक तथा वित्तीय संस्थाले गर्दछन् । पुँजीबजारमा दीर्घकालीन लगानीसँग सम्बन्धित साधनहरुको परिचालन तथा विक्री बितरण हुनेगर्छ । मर्चेन्ट बैंकिङ कम्पनीले दीर्घकालीन लगानीसँग सम्बन्धित त्यस्ता लगानी साधनहरुको प्रवद्र्धन र व्यवस्थापनको काम गर्छ । त्यसैले यस्ता कम्पनीलाई इन्भेन्टमेन्ट कम्पनी, क्यापिटल कम्पनी पनि भन्ने गरिन्छ । यस अन्तर्गत विभिन्न आयोजनाका लागि आवश्यक पुँजी संकलनका लागि कम्पनीहरुले जारी गर्ने शेयर, डिबेन्चर, बण्ड अर्थात् धितोपत्र निष्काशन प्रबन्ध गर्ने, त्यस्ता धितोपत्रहरुको अण्डरराइटिङ अर्थात् प्रत्याभूति गर्ने, विभिन्न कम्पनीले जारी गर्ने धितोपत्रको अभिलेख व्यवस्थित गर्न धितोपत्र रजिष्ट्रारको सेवा दिने, पोर्टफोलियो म्यानेजमेन्ट, सामूहिक लगानी कोष व्यवस्थापन गर्ने, धितोपत्र निक्षेप सेवा प्रदान गर्ने जस्ता कामहरु पर्दछन् । अन्य देशहरुमा हेर्ने हो भने मचेन्ट बैंकिङ कम्पनीले यो भन्दा अरु पनि काम गर्ने गर्छन । जस्तो कि वित्तीय परामर्श सेवा, सम्भाब्यता अध्ययन, लोन सिन्डीकेशन, भेन्चर क्यापिटल, कर्पोरेट रिस्टक्चरिङ, मर्जर एक्विजिसन, लिजिङ सेवा इत्यादी । 

  • यस्ता कम्पनीसँग एउटा साधारण लगानीकर्तासँग प्रत्यक्ष जोडिने कुराहरु के हुन्छन् । ता की उनीहरुले मर्चेन्ट कम्पनी भनेको यो पो रहेछ भनेर सजिलै बुझुन । 

मर्चेन्ट बैंकिङ कम्पनीले संगठित संस्थाहरुलाई मात्र होइन प्रत्यक्ष रुपमा सर्वसाधरण लगानीकर्तालाई पनि सेवा प्रदान गर्ने गर्दछ । जस्तो की शेयर कारोबार गर्न शेयरलाई अभौतिकीकरण गर्न अनिवार्य गरिएको छ । हाल धितोपत्र बजारमा शेयरको भौतिक स्वरुपमा कारोबार हुँदैन । मर्चेन्ट बैंकले साधारण लगानीकर्तालाई हाल भौतिक स्वरुपमा रहेको शेयरलाई अभौतिक अभिलेख राख्न धितोपत्र निक्षेप खाता (डिम्याट एकाउन्ट) खोली डिपोजिटरी पार्टिसिपेन्टको सेवा पनि दिन्छन् । त्यसैगरी शेयर रजिष्ट्रारको सेवा प्रदायक मचेन्ट बैंकले लगानीकर्ताबाट शेयर खरिद वापतको आवेदन तथा रकम संकलन गर्ने, कम्पनीले जारी गर्ने वोनश शेयर, लाभांश पुर्जा वितरण गरिदिने जस्ता सेवा प्रदान गर्ने गर्दन् । आफ्नो लगानीयोग्य पूँजीलाई कम जोखिमयुक्त लगानी क्षेत्र पहिचान गरी लगानी गर्नमा पनि मर्चेन्ट बैंकले सहयोग गर्छ । 

  • अहिले कति पुगे यस्ता कम्पनीहरु ? 

१७ वटा । गएको असारसम्म नेपाल धितोपत्र बोर्डले अद्यावधिक गरको तथ्याङ्कअनुसार । 

  • यसअघि बाणिज्य बैंकहरुले गरिरहेको मर्चेन्ट बैकिङको काममा छुट्टै कम्पनीहरु बनाउनुपर्ने कारण के हो ? 

नेपाल राष्ट्र बैंकले २०६५ सालतिर बाणिज्य बैंकले मर्चेन्ट बैंकको काम गर्न नपाउने र यदि गर्ने नै भए छुट्टै कम्पनी खडा गरेर मात्र गर्न पाउने व्यवस्था ग¥यो । आज पनि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ को दफा ४७ मा बैंकहरुले गर्न पाउने काम मध्ये यो पनि छ । तर, त्यस्तो काम गर्दा राष्ट्र बैंकको निर्देशनको अघिनमा मात्र गर्न पाउने प्रावधान भएको हुँदा राष्ट्र बैंकले अलग्गै कम्पनीमार्फत मात्र मर्चेन्ट बैंकिङको काम गर्न पाउने व्यवस्था गरेको हो । यसो गर्नुको पछाडिको मूल कारण के हुनुपर्छ भने पुँजीबजार र मौद्रिक बजारका नियामक निकाय एउटै होइनन् । मौद्रिक बजारको नियामक निकाय राष्ट्र बैंक हो । तर पुँजीबजार नेपाल धितोपत्र बोर्डको नियामनको अधिनमा छ । त्यसैले मर्चेन्ट बैंकिङ व्यवसायको नियामनमा सहजता हुन सकोस् र खासगरी एउटै व्यवसायिक इकाइले गर्ने एउटा व्यवसाय एउटा नियामक निकायको निर्देशन र अर्को व्यवसाय अर्को निकायको नियामनमा पर्दा हुन सक्ने असजिलोे हटाउन यो भएको हुनुपर्छ । 

अर्को कारण के हुन सक्छ भने सामान्य बैकिङ व्यवसाय र मर्चेन्ट बैंकिङ व्यवसाय वास्तव मै अलग अलग विधा हुन् । सामान्य बैंकिङ व्यवसाय गर्दा सदैव निक्षेपकर्ताको हितलाई ध्यानमा राखेर काम गर्नुपर्ने हुन्छ । मर्चेन्ट बैंकिङ व्यवसायले लगानीकर्ताको हितलाई सर्वोपरी मानेर काम गर्नुपर्छ । यी दुुइटै काम एउटै कम्पनीले गर्दा कहिले काहीँ टकराबको स्थिति पनि पैदा हुन सक्छ । यसकारण पनि यस्तो व्यवस्था भएको हुनुपर्छ । 

  • तपाईं एसबिआई बैंकको कार्यक्रममा धेरै पटक भारत जानुभएको छ । त्यहाँका बैंक तथा मर्चेन्ट बैकिङ कारोबारको बारेमा बुझनु भएको छ । भारत वा तेस्रो मुलुकमा रहेका यस्ता कम्पनीहरुले कसरी काम गर्दै आएका छन् ?

हुन त म भर्खरै मात्र मर्चेन्ट बैंकिङ कम्पनीको कार्यकारी प्रमुखमा नियुक्त भएको र नेपाल एसबिआई बैंक पनि यस अघि यो क्षेत्रमा नभएको हुँदा यो क्षेत्र मेरो लागि नौलो हो । तर, मेरो कम्पनी भारतको एसबिआई गु्रप अन्तरगतको कम्पनी हो । एसबिआई गु्रपको लागि मर्चेन्ट बैंकिङ वा क्यापिटल व्यवसाय नौलो विधा होइन । भारतमा मात्र एसबिआई गु्रप अन्तर्गत मर्चेन्ट बैंकिङको काम गर्न अलग अलग कम्पनी छन् । एसबिआई क्यापिटल मार्केट लिमिटेड (मुख्य कम्पनी), एसबिआई क्याप सेक्युरिटिज लिमिटेड, एसबिआई क्यापिटल ट्रष्टी लिमिटेड, एसबिआई क्याप भेन्चर लिमिटेड, एसबिआई फन्ड म्यानेजमेन्ट इत्यादी । एसबिआई क्यापिटलले भारतमा मात्र होइन, सिंगापुर र बेलायतमा पनि सहायक कम्पनी खोलेको छ । यी कम्पनीहरुले इन्भेन्टमेन्ट बैंकिङ, वित्तीय परामर्श, कोष व्यवस्थापन, लगानी व्यवस्थापन, मर्जर एक्विजिसन सेवा लगायत मर्चेन्ट बैंकिङसम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्दै आएका छन् । उनीहरुले प्रदान गर्ने प्रायः सबै सेवा अत्याधुनिक प्रविधिमा आधारित छन् । 

  • नेपालमा धितोपत्र निष्काशन र बिक्री प्रवन्धकको काम गर्ने कम्पनीको रुपमा यस्ता कम्पनीलाई हेरिन्छ । भनेपछि नेपालमा यसको दायरालाई निकै संकुचित गरिएको अवस्था छ । होइन ? 

हो, नेपालमा मर्चेन्ट बैंकिङ भन्ने वित्तिकै केवल धितोपत्रको निष्काशन, बिक्री प्रबन्ध र रजिष्ट्रार टु शेयर (आरटियस)को मात्र काम गर्ने कम्पनी भन्ने आम बुझाई छ । हालसम्म यो सीमित व्यसायिक विधालाई मात्र आफ्नो व्यवसायीक क्षेत्र ठानेर काम गर्नुपर्ने बाध्यताले गर्दा नेपालमा मर्चेन्ट बैकिङ व्यवसायमा ठूलो प्रतिस्पर्धात्मक वातावरण पैदा भएको छ । मर्चेन्ट बैंकरका लागि नेपालमा नयाँ व्यवसायिक अवसर सिर्जना हुन नसक्नुमा मूलतः देशको विकास क्रियाकलापको आएको मन्दी नै मुख्य कारक हो भन्ने मलाई लाग्छ । मैले अघि भनें मर्चेन्ट बैंक क्यापिटल मार्केटको सहजकर्ता हो । क्यापिटल मार्केट स्वयमको दायरा फराकिलो नभई यसको दायरा पनि फराकिलो हुँदैन । वस्तवमा, भेन्चर क्यापिटल, इन्भेन्टमेन्ट बैंकिङ, पोटफोलियो म्यानेजमेन्ट, लोन सिन्डिकेशन, वित्तीय परामर्श सेवा जस्ता मर्चेन्ट बैंकिङका खास विशिष्ट क्षेत्रमा हाम्रो विशेषज्ञता विकास भएकै छैन । अहिले देशमा संविधान घोषणा भएको लगभग एक वर्ष हुन लागेको छ । अब अलिकति देशमा राजनीतिक स्थिरता कायम हुन सके लगानीका नयाँ नयाँ अवसर सिर्जना हुनेछ । विदेशी लगानी भित्रने छ । केवलकार, जलविद्युत, मेट्रो, रेलवे, सडक, जस्ता विकास आयोजनाहरुले गतिलिने छन् । त्यस पछि भने मर्चेन्ट बैंकरका लागि पनि नयाँ व्यवसायिक अवसर सिर्जना हुनेछ । निश्चित रुपमा, आज मर्चेन्ट बैंकिङ व्यवसायको दायरा केही साँघुरो भएका कारण मौजुदा कानुनी एवं नीतिगत व्यवस्थाले काम चलिरहेको छ । तर, यस क्षेत्रमा भोली सिर्जना हुने व्यवसायिक अवसरका लागि भने यो कानुनी एवं नीतिगत व्यवस्थालाई पनि केही फराकिलो पार्नुपर्ने हुन्छ । 

  • तपाईंले भन्नुभयो दायरा सीमित छ भनेर । मर्चेन्ट कम्पनीहरु थपिने तर दायरा नबढने हो भने त्यसले तपाईंहरुबीच नै अस्वस्थ प्रतिस्पर्धा सिर्जना गर्दैन ? 

हो मैले भनि सकेँ ।  व्यवसायको दायरा सागुरो भएसँगै प्रतिस्पर्धा तीब्र देखिएको छ । तर आगामी दिनमा विकास आयोजनाहरुमा आउने बढोत्तरी सँगै मर्चेन्ट बैंकिङ व्यवसायको दायरा पनि स्वतः फराकिलो हुने मेरो अपेक्षा छ । तर अहिले देशको समग्र विकासमा छाएको मन्दीले यसको विकास हुन नसकेको हो । विदेशी लगानी, ठूला आयोजना, खासगरी विकास आयोजनाको कार्यान्वयन जबसम्म सुरु हुँदैन, तबसम्म यो क्षेत्र मौलाउन सक्दैन । 

  • राजधानी केन्द्रीत पुँजीबजारलाई विकेन्द्रीत गरी दुर्गम जिल्लाका लगानीकर्ताले पनि सजिलै लगानीगर्ने योजना अघि सारिएको छ । अनलाइन कारोबारको विकास गरेर विश्वका जुनसुकै मुलुकबाट लगानी गर्नसक्ने बनाउने कुरा भइरहेको छ । त्यसका लागि हाम्रो तयारी पर्याप्त छ ?

यो देशको लागि अपरिहार्य र स्वागतयोग्य कुरा हो । जसरी राष्ट्र बैंकले वित्तीय समावेशीतालाई जोड दिइरहेको छ, त्यसरी नै यस अवधारणले नै लगानी समावेशिताको वृद्धि गर्नमा राज्यलाई ठूलो सघाउ पुग्नेछ । अब रोल्पा, हुम्ला, जुम्लामा बस्ने लगानीकर्ताले पनि आफ्नै गाउँ, ठाउँमा बसी बसी धितोपत्र बजारमा पहूँच राख्न सक्ने बनाउन जरुरी छ । आज अमेरिका जाने डिभी अनलाइन भर्ने सुविधा छ, जागिरको आवेदन अनलाईन भर्न सकिने भएको छ, शेयर खरिदको आवेदन अनलाइन किन भर्न नसकिने ? अब सेयरका लागि घण्टौं लाइन बस्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ । यहाँ मर्चेन्ट बैंकको भुमिका हुनेछ । विगत पाँच वर्ष पहिले मात्र विद्यमान डिजिटल दुनिया र हालको डिजिटल दुनियामा ठूलो अन्तर पैदा भएको छ । हामीले पुँजी बजारमा लगानी समावेशिता वृद्धि गर्न यो डिजिटल प्रविधिको अधिकतम उपयोग गर्न जरुरी छ । विदेशमा कार्यरत नेपालीको मेहनतको कमाईलाई सोझै पुँजी बजारमा भित्र्याउन पनि अनलाइन शेयर कारोबार विकशित गर्न अपरिहार्य भइसकेको छ । यसको तयारी अझै पूरा नभइसकेको अवस्थामा रेगुलेटर, मर्चेन्ट बैंकर, धितोपत्र व्यवशायी लगायत सम्बद्ध सबैले आआफ्नो ठाउँबाट लागि पर्न आवश्यक छ । 

  • नियामक निकायहरुको भूमिकालाई कसरी हेर्नुभएको छ । समयमा आवश्यक नीति नियम बनाउने । समयमा निर्णय गरिदिने अवस्था छ कि छैन । यहाँ त कर्मचारीले नै समयमा निर्णय नगरेर दुःख दिने गरेको सधै गुनासो सुनिन्छ । 

नेपाल एसबिआई मर्चेन्ट बैंकले हाल कारोबार आरम्भ गर्ने इजाजत पाइसकेको छैन । इजाजत प्राप्त गर्ने सम्बन्धी प्रक्रिया अन्तिम चरणमा छ । त्यसैले एउटा मर्चेन्ट बैंकरको नाताले रेगुलेटरसँग मेरो अनुभव छैन । जहाँसम्म एउटा सुचीकृत कम्पनीको कम्पनी सचिव र कानून विभागको प्रमुखको हैसियतमा मेरो अनुभव छ, रेगुलेटरको सहयोग एवं समर्थन प्रशंसनीय छ । हामी कतिपय कुराहरुको समाधान केवल टेलिफोनको भरमा पनि पाइरहेका छौँ । यहाँले उठाउनु भएजस्तो निर्णय प्रक्रियामा केही ढिलासुस्ती भएको हुनसक्छ । तर, यसो हुनमा रेगुलेटरको बाध्यतालाई पनि हामीले बुझ्न जरुरी छ जस्तो मलाई लाग्छ । मेरो हेराईमा रेगुलेटरको जिम्मेवारी अनुसार धितोपत्र बोर्डमा आवश्यक कर्मचारी संख्या थिएन । तर, अहिले केही संख्यामा नयाँ कर्मचारी भर्ना भइसकेको देखेका छौँ । 

  • लगानीकर्तालाई गुणस्तरीय र सुदृढ मर्चेन्ट बैकिङ सेवाको खाँचो पूर्ति गर्ने कुरामा तपाईंहरुको यो एसबिआई मर्चेन्ट कम्पनीको योजना के छ ?  

मर्चेन्ट बैकिङको क्षेत्रमा म नयाँ हो, नेपाल एसबिआई बैंक पनि नयाँ हो । तर, एसबिआई गु्रप भने यस क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा स्थापित ब्रान्ड हो । त्यसैले धितोपत्र बोर्डबाट कारोबार संचालन अनुमति प्राप्त गरेपछि अन्तर्राष्ट्रिय स्तरमा स्थापित सर्वोकृष्ट अभ्यास, उत्पादन तथा सेवालाई नेपाली बजारमा प्रचलनमा ल्याउने कुरा हाम्रो पहिलो प्राथमिकता हुनेछ । यसका लागि हाल हामी आन्तरिक नीतिगत व्यवस्थाहरु तर्जुमा गर्नेतर्फ काम गरिरहेका छौँ । नेपाली मर्चेन्ट बैंकिङ बजारमा आम लगानीकर्तालाई गुणस्तरीय र अत्याधुनिक प्रविधिले सुसज्जित उत्पादन तथा सेवा दिन सकुँ भन्ने हाम्रो लक्ष्य हो । 


    तपाईको प्रतिक्रिया

    Copyrights © 2021 Lokpriyanews

    Thursday, Sep 16, 2021

    कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

    सम्पादक : गोविन्द शर्मा

    सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१