शनिबार, कार्तिक ८, २०७७ साल

वैदेशिक रोजगारमा अब २० लाखको बिमा, श्रम स्वीकृति लिई भारत जानेको १४ लाखको बिमा

लाेकप्रिय सन्देश २०७३ माघ ११ गते 3.19K

काठमाडौंः सरकारले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि सरकारले २० लाख रुपियाँसम्मको बीमा व्यवस्था गर्ने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा उक्त घोषणा गरेका हुन । 

यस्तो बिमा घातक रोग लागेकादेखि दुर्घटनामा परेकासम्मलाई उपलब्ध गराइने उनले बताए । दाहालले वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउनु राज्यको दायित्व हो भन्दै वैदेशिक रोजगारीमा हुने ठगी र सुचनाको अभावलाई सरकारले गम्भीर ढंगले लिएको बताए । 

कर्मचारीहरु गम्भीर नहुँदा विदेशीले नभई हाम्रै कारण हाम्रा मानिसहरु ठगिनु परेको भन्दै उनले कर्मचारीहरुले सेवाग्राहीलाई सहज बनाउने भन्दा जकड्ने काम गरेको बताए । 

दाहालले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न अध्यागमनदेखि विदेशस्थित दूतावासहरुलाई सुधारको काम भइरहेको बताए । यही माघ १५ गतेबाट लागू हुने नयाँ व्यवस्थाअनुसार कामदारको स्वास्थ्य बीमातर्फ साविकको सुरक्षा तथा सुविधालाई विस्तार गरी जीवन बीमा, आयको नोक्सानी लगायतका सुविधाहरुका अतिरिक्त मृगौला फेल, क्यान्सर जस्ता बिभिन्न १५ प्रकारका घातक रोग बापत थप पाँच लाखसहित २० लाख रुपियाँको बीमा हुुने नयाँ व्यवस्था गरिने जनाइएको छ । 

तीन महिनाभित्र मानसिक रोगलाई समेत घातक रोगको सूचीभित्र समावेश गरी क्षतिपूर्ति दिलाउने सम्बन्धमा आवश्यक गृहकार्य गर्नसमेत बीमा समितिलाई निर्देशन दिइएको प्रधानमन्त्रीले बताए । 

घातक रोग लागी मृत्यु नभएको तर शारीरिक रुपले मृत्युसरह मानिने अवस्था प्रमाणित भएमा क्रिया खर्च र शव ल्याउने खर्च बाहेक बीमाबाट १३ लाखसम्म, बैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट तीन लाख र घातक रोगबापत पाँच लाख गरी कुल १८ लाखसम्म प्राप्त हुने ब्यवस्था गरिएको छ । 

बैदेशिक रोजगारीमा जानेले जीवन बीमा वापत १० लाख, बीमितको आयको नोक्सानी वापत दुई लाख, क्रिया खर्च एक लाख, औषधी उपचारको लागि एक लाख, शव ल्याउन एक लाख, घातक रोग बापत पाँच लाख गरि कुल २० लाख रुपियाँ दावी गर्न सक्ने छन् । 

यदी वैदेशिक रोजगारमा जानेको नेपालमा गरेको स्वास्थ्य परीक्षण गन्तब्य मुुलुकमा असफल भएको अवस्थामा फर्किएर आउनु परेमा उनीहरुलाई दाबी गर्ने हद म्याद नराखी सरल प्रक्रियाबाट क्षतिपूर्ति रकम फिर्ता गर्ने ब्यवस्था ४५ दिनभित्र मिलाउन श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिइएको छ । 

स्वास्थ्य जाँच गर्ने संस्थाहरुबाट बैंक ग्यारेन्टी वा धरौटी लिई सरकारी निकायबाटै क्षतिपूर्ति भुुक्तान गर्ने ब्यवस्था समेत ४५ दिनभित्र मिलाइने भन्दै दाहालले विशेष अवस्थामा जेल सजाय भोगिरहेका, बिरामी भएको कारण कमाउन नसक्ने अवस्थामा रहेकाको बीमा नवीकरण शुुल्क सरकारले व्यहोर्ने व्यवस्था मिलाइएको बताए । 

कामका लागि भारत जानेले पनि श्रम स्वीकृति लिनुपर्ने 
सरकारले भारतमा गएर काम गर्नेलाई पनि बैदेशिक रोजगारी सरहको सुविधा दिने भएको छ । तर त्यसका लागि श्रम स्वीकृति लिएर जानुपर्नेछ । रोजगारीको लागि भारत जाने नेपाली नागरिकहरुको संख्या लाखौं भए पनि वैदेशिक रोजगारीको परिभाषा भित्र नराख्दा समस्या पर्दै आएको छ । 

अहिले भारतमा जानेलाई पनि त्यही अनुरुपको बीमा लगायतबाट रक्षावरण नै गर्ने निर्णय सरकारले गरेकोले भारत जानेले जिल्ला प्रशासन कार्यालय वा सीमा जिल्ला प्रशासन कार्यालयबाट काम गर्न अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरिएको प्रधानमन्त्री दाहालले जानकारी दिएका छन् । 

भारतमा जानेले अधिकतम १४ लाखसम्मको बीमा पाउने छन् । 
यो व्यवस्था फागुन एक बाट लागू हुनेछ । यो अनुुमति पत्र दिनुुअघि जिल्ला प्रशासन कार्यालयले बीमा र कल्याणकारी कोषमा अनिवार्य सहभागिता गराउने दाहालले बताए । 

नेपाली श्रमिक उल्लेख्य रुपमा रहेका मुलुकमा लामो समयदेखि राजदूत नभएको भन्दै उनले मन्त्रिपरिषद्ले चाँडै राजदुत नियुक्त गर्ने बताए । हाल कतार, साउदी अरेबिया, इजरायल, ओमान, बहराइन, युएई, जापान, अस्ट्रेलिया, डेनमार्क, दक्षिण कोरिया, बंगलादेश, श्रीलंका र म्यानमार १३ देशमा नेपालका राजदुत छैनन् । 


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Saturday, Oct 24, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१