शनिबार, कार्तिक ८, २०७७ साल

साउदीमा अनाहकमा जेल हालिएको भन्दै पीडितले न्यायका लागि प्रधानमन्त्रीलाई घेरे

लाेकप्रिय सन्देश २०७३ माघ १९ गते 2.54K

काठमाडौंः साउदी अरबमा एक भारतीय नागरिकको हत्या अभियोगमा ११ जना निर्दोष नेपालीले अनाहकमा सात वर्ष जेल सजाय भोग्नुपरेको भन्दै पीडितले न्यायको माग गरेका छन् । 

सन् २०१० फेब्रुअरीमा पक्राउ गरी साउदीको जेद्दा जेलमा सात वर्षको जेल जीवन बिताएर डेढ महिनाअघि नेपाल फर्किएका उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भेट गरेर आफूहरूलाई क्षतिपूर्ति दिन आग्रह गरेका हुन् । 

पीडितले साउदी अरबस्थित नेपाली दूतावासका पूर्वराजदूत र कर्मचारीले पहल नगरेका कारण आफूहरूले यस्तो सजाय भोग्न बाध्य भएको भन्दै दूतावासका तत्कालीन अधिकारीलाई कारबाहीको मागसमेत गरे । पक्राउ परेको साढे पाँच वर्षपछि त्यहाँको अदालतले उनीहरूलाई दुई वर्षदेखि पाँच वर्षसम्मको जेल सजायको फैसला गरेको थियो । 

रुपन्देहीका भक्तबहादुर दर्जी, नवलपरासीका कृष्णबहादुर दमाईं, रसुवाका सोम तामाङलाई दुई वर्ष, सुनसरीका चक्रबहादुर गुरुङ, तनहुँका केशबहादुर नेपालीलाई तीन वर्ष, ओखलढुङ्गाका वीरबहादुर बुढाथोकी, धादिङका रामबहादुर तामाङलाई चार वर्ष तथा भोजपुरका श्रीकुमार राई, झापाका दीपेन शेर्मा र मोरङका भीमप्रसाद चिमौरियालाई पाँच वर्षको जेल सजाएको फैसला साउदीका अदालतले गरेका थिए । तर उनीहरू सबैलाई पक्राउ गरेको सात वर्षपछि डेढ महिनाअघि मात्रै रिहा गरिएको थियो ।

विसं २०६८ मा पीडितका परिवारले सामूहिक रूपमा नेपालस्थित परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता गरे पनि रिहाइका लागि पहल नभएको गुनासो उनीहरूको छ । पक्राउ सबैलाई हतकडीसहित विमानस्थलमा ल्याएर जहाजमा राखी नेपाल पठाइएको पीडित भीमप्रसाद चिमौरियाले बताए ।

उनले भने, “साउदी अरबस्थित नेपाली दूतावासले बेलैमा पहल गरेको भए हामी एक÷दुई महिनामै छुट्न सक्थ्यौँ तर कर्मचारीको लापरबाहीका कारण बिनाकारण सात वर्ष जेल बस्नुप¥यो ।” 

जेलमा आफूहरूलाई करेन्ट लगाउने र बेहोस बन्ने गरी कुटपिट गर्ने गरेको पीडितले प्रधानमन्त्रीलाई सुनाए । जेल जीवनमा आफूहरूलाई पेटभरि कहिल्यै खानसमेत नदिएको पीडित चिमौरियाले दुखेसो पोखे ।

जेलमै एक नेपालीको मृत्यु
पक्राउ परेका ११ मध्ये एक नेपालीको जेल जीवनकै क्रममा मृत्यु भएको उनीहरूले जानकारी दिए । मधुवन, सुनसरीका उमेश श्रेष्ठको जेलमा यातनाकै कारण मानसिक सन्तुलन गुमाएको र सोही क्रममा मृत्यु भएको उनीहरूले जानकारी दिए । मृतक श्रेष्ठको शव अझै नेपाल नल्याइएको दाबी उनीहरूको छ । 

क्षतिपूर्तिका लागि पहल गर्छु: प्रधानमन्त्री

पीडितको कुरा सुनेपछि प्रधानमन्त्री प्रचण्डले उनीहरूलाई साउदी सरकारबाट क्षतिपूर्ति दिलाउन सरकारले कूटनीतिक पहल गर्ने बताए ।

पीडितको संरक्षक र अभिभावक सरकार भएको भन्दै उहाँले सरकारीस्तरबाट समेत राहत दिलाउन आफूले भूमिका खेल्ने बताउनुभयो । मृतक उमेश श्रेष्ठको शव ल्याउनसमेत तत्कालै प्रक्रिया अगाडि बढाइने प्रधानमन्त्री प्रचण्डले प्रतिबद्धता व्यक्त गर्नुभयो । 

यो विषयमा नेपालको साउदी अरबस्थित दूतावासबाट विवरण लिने र दूतावासको कमजोरी देखिए सम्बद्ध अधिकारीलाई कारबाही प्रक्रिया अगाडि बढाउने समेत उनले जानकारी गराए ।

आफूले सरकारको नेतृत्व सम्हालेयता वैदेशिक रोजगारी क्षेत्रका समस्या समाधानका लागि अग्रसरता लिएको बताउँदै प्रधानमन्त्रीले स्वदेशमा नै नयाँ शिराबाट उत्पादनको क्षेत्रमा लाग्न पीडित युवालाई आग्रह गर्नुभयो । 


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Saturday, Oct 24, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१