शनिबार, कार्तिक ८, २०७७ साल

आफ्नो सीप र ज्ञान हस्तान्तरण गर्न थाइल्याण्डका नेपाली विज्ञ एवं व्यवसायी तयार

लाेकप्रिय सन्देश २०७३ चैत्र ३ गते 5K

बैंककः थाइल्याण्डमा रहेका नेपाली पेशाकर्मी, शिक्षाकर्मी, व्यवासायीहरुले मातृभूमि नेपालमा आफूले सिकेको सीपलाई संगठित र स्वयेच्छिकरुपमा हस्तान्तरण गर्न  तयार भएका छन् । 

नेपालमा सीत हस्तान्तरणको आवश्यकता र संभावनाबारे पथुम्थानीस्थित एसियन इन्ष्टिच्युट अफ टेक्नोलोजी (एआईटी)मा हालै आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले उक्त प्रतिवद्धता जनाएका हुन । 

कार्यक्रममा बैंककस्थित संयुक्त राष्ट्र संघीय नियोगदेखि विभिन्न संस्थामा कार्यरत कर्मचारी, गैरआवासीय नेपाली संघ थाइल्याण्डका पदाधिकारी, अध्यापन क्षेत्रमा लागेका प्राध्यापक एवं कर्मचारीहरु, एआइटीका प्रतिनिधि सहभागी थिए । 

कार्यक्रमको अध्यक्षता बेनीमाधव लेखकले गरेका थिए भने अनिलकुमार अनलले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । लेखकले थाइल्याण्डमा बसोबास गर्दै आएका विज्ञ एवं व्यवसायीहरु मिलेर तत्काल नेपालमा केही गतिविधि गर्ने उपाय खोज्नुपर्ने कुरामा जोड दिएका थिए । 

गत महिना (फेब्रुअरी १०मा) पनि एआइटीले एआइटी एल्मुनाई एशोसियशनसँग मिलेर काठमाडौंमा यसै विषयमा केन्द्रीत भएर गोष्ठी आयोजना गरेको थियो । उक्त गोष्ठीमा सरकारी अधिकारीदेखि दाता, निजी क्षेत्रका प्रतिनिधि सहभागी थिए । 

अन्तरक्रिया कार्यक्रममा विभिन्न वक्ताहरुले नेपालको संभावना र समस्या समाधानका बारेमा आआफ्नो धारणा राखेका थिए । 

राजेन्द्रप्रसाद श्रेष्ठले प्राकृतिक स्रोत साधनको संरक्षण र  प्रयोग बारेमा, शोभाकर ढकालले उर्जा सुरक्षा र नवीकरणीय उर्जाको संभावनाका बारेमा, अनिलकुमार अनलले खाद्य वस्तुको मूल्य श्रृखला विकास बारेमा, खगेन्द्र ढकालले आधुनिकीकरण र होलेस्टिक एप्रोचमा आधारित शिक्षा बारेमा, विश्व तिवारीले नेपालको दिगो विकास लक्ष्य बारेमा, ज्ञानेन्द्र स्थापितले सहुलियतपूर्ण आवास निर्माण तथा पूर्वाधार विकास बारेमा, मदन रेग्मीले शहरीकरण र पूर्वाधार विकास बारेमा र लोचन  देवकोटाले जलविद्युतको संभावना बारेमा धारणा प्रस्तुत गरेका थिए । 

बाँकी सहभागीले पनि नेपालका संभावनाका विभिन्न क्षेत्रबारेमा आफ्नो धारणा राखेका थिए । उनीहरुले व्यक्तिगत तथा सामुहिकरुपमा नेपालको आर्थिक उन्नतीका लागि आफ्नो अनुभव र दक्षताको प्रयोग गर्ने प्रतिवद्धता गरेका थिए । 

मुख्य गरेर चार विषयहरु विप्रेषणको सही व्यवस्थापन, नवीकरणीय उर्जाको विकास, मूल्यमा आधारित कृषि तथा जडिबुटी उद्योग र निर्माण क्षेत्रलाई प्राथमिकता दिइएको यस अन्तरक्रियामा सहभागी विज्ञ एवं व्यवसायीले मिलेर काम  गर्न सकिने क्षेत्रहरुको खोजी गरेका थिए । 

त्यसका लागि नौ सदस्य कार्यसमिति समेत गठन गरिएको छ । समितिले सीप तथा ज्ञान हस्तान्तरण र आगामी कार्ययोजना निर्माणको काम गर्नेछ । स्कुल अफ इन्भाइरोमेन्ट, रिसोर्स एण्ड डेभलपमेन्ट (सेर्ड)का डिन राजेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा गठित कार्यसमितिमा बैंककस्थित संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडिपी)मा काम गर्ने विश्वनाथ तिवारी, सिएच कार्चङ कम्पनीका बेनीमाधव लेखक, एआइटीका ज्ञानेन्द्र स्थापित, अनिलकुमार अनल, शोभाकर ढकाल, यनेस्केपका मदनबन्धु रेग्मी, किङ मोङकुट्स युनिभर्सिटी अफ टेक्नोलोजीका खगेन्द्र ढकाल, एनआएनए थाइल्याण्डका गाबो गुरुङ सदस्य छन् । 


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Saturday, Oct 24, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१