बिहीवार, भाद्र ३१, २०७८ साल

‘नेपालमा ठूला पूर्वाधार आयोजना बनाउन निजी लगानीबाट संभव छैन, रेमिटान्सबाट सकिन्छ’

लाेकप्रिय सन्देश २०७४ बैशाख ४ गते 12.18K

रोजगारी तथा विभिन्न उद्देश्यले कतार पुगेर त्यही पेशा व्यवसाय गर्दै आएका सयौं नेपालीले आफूहरुलाई यहाँँ स्थापित गरेका छन् । नेपाली कामदारहरुको लागि आकर्षक श्रम गन्तव्यको रुपमा रहेको कतारमा केही नेपालीहरुको हासिल गरेको व्यवसायिक सफलता उदाहरणीय छ । निर्माणदेखि रेष्टुरेन्ट, म्यानपावर, ट्राभल, श्रृङ्गार जस्ता क्षेत्रमा सफलता हासिल गरेका थुप्रै नेपालीमध्ये हामीले भेटेका निर्माण क्षेत्रसँग सम्वन्धित केही नेपाली व्यवसायीसँग गरिएको कुराकानी प्रस्तुत छः 
आरके (राजेन्द्रकुमार) शर्मा, निर्माण व्यवसायी तथा एनआरएनएका कार्यकारिणी सदस्य

  • कतार जस्तो मुलुकमा आएर व्यवसाय गर्ने इच्छा तपाईंमा कसरी जाग्यो ? 

भाग्यको खेल भन्नुपर्छ । जीवनमा संघर्ष गर्दै जाने क्रममा व्यवसाय गर्ने सोच आयो । र त्यो पनि कतारमा आएर...म विगत १४ बर्षदेखि यहाँ काम गर्दैछु । 

  • किन कतार रोज्नुभयो ? नेपालमै किन गर्नुभएन ? 

मेरो फरक कथा छ । म भारतमा पढन जाने क्रममा त्यहाँ ट्राभल एजेन्सीको व्यवसाय गर्थें । त्यो व्यवसायमा फँसेको पैसा उठाउने क्रममा म कतार आइपुगें । पछि यहीं व्यवसाय स्थापना गरें । 

  • यहाँ व्यवसाय गर्दाको समस्या चाँही के के छन् ? 

व्यवसाय आफैमा चुनौतिपूर्ण काम हो । त्यसमाथि पनि निर्माणसम्वन्धी काम विश्वमै बढि चुनौतिपूर्ण काम मानिन्छ । मैले अंगालेको पेशा पनि त्यही हो । विकसित मुलुकहरुको निर्माण व्यवसायको स्थितिसँग तुलना गर्दा कतारको अवस्था निकै राम्रो छ । 

  • अहिले विश्वकप फुटबललाई लक्षित गरेर निर्माणको काम पनि निकै भइरहेको छ । यसमा तपाईंहरुको स्थिति के छ ? 

यो कुरामा हामी भाग्यमानी पनि भन्नुपर्छ । यहाँको सरकारले हामीलाई पत्याएर सन् २००४ देखि राष्ट्रियस्तरका आयोजनाहरुका सानो ठूलो काम लिन पाइरहेका छौं । विश्वकपका लागि लक्षित चार वटा ठूला आयोजनाहरुमा हामी काम गरिरहेका छौं । 

  • कस्तो खालको काम गर्नुहुन्छ ? 

हाम्रो मुख्य गरेर सब–कन्ट्राक्ट र टेक्निकल सर्पोट हो । ए ग्रेडिङ अन्तर्राष्ट्रिय टेण्डरहरुमा सहभागी हुने बेला अझै हाम्रो भएको छैन । त्यो भएर हामीले सब–कन्ट्राक्स, टेक्निकल सर्पोट, इटेरियोर डिजाइन र फिनिसिङको काम गर्ने हो । 

  • ए ग्रेडको हुन के गर्नुपर्छ तपाईंलाई ? के छ यहाँको मापदण्ड ? 

हामीले ठूलै काम पनि अहिलेको कम्पनीबाट ल्याउन सक्छौं । तर ठूलो कम लिएर काम गर्न यदी नसक्नु भने सानो काम लिएर ठूलो हुँदै जानु राम्रो हुन्छ । हाम्रो टिमको सल्लाहअनुसार ठूलो आकारको काममा गएको छैन । 

  • अहिले कतारमा हुनुहुन्छ । यो व्यवसायलाई खाडी कै अरु मुलुकदेखि नेपालसम्म विस्तार गर्ने के छ योजना ? 

हामीले दुवई र अमेरिकामा पनि काम सुरु गरिसकेको छौं । नेपालमा पनि साना आकारमा सुरु गरेका छौं । हामीले गर्ने निर्माणको काम भनेको विकासशील मुलुकहरुमा बढि हुने गर्दछ । हामीले नेपालमा निर्माणसम्वन्धी काममा के कुराको अभाव छ ? भनेर हेरिरहेका छौं । नेपालमा दुई बर्षअघि भूकम्प जाँदा धेरै घर भत्किए । त्यसको मुल कारण ती घरमा प्राविधिक त्रुटी थिए । यसमा अर्को कमजोरी पनि के भने परामर्शदाता, निर्माण व्यवसायी र निर्माणकर्ताबीचको सम्वन्ध राम्रो हुन नसकेर हो । सरकार र जनताले पनि यो सम्वन्धलाई बुझन र समन्वयात्मक ढंगले अघि बढाउन नसकेको अवस्था छ । धेरै निर्माणको काम गुणस्तरीय हुन नसक्नुमा परामर्शदाता र ठेक्का लिने एउटै भएर हो । यी दुई कहिल्यै पनि एउटै हुनुहुन्न । कन्ट्राक्टरको काम भनेको नाफा लिने काम भएकोले उसलाई विश्वास गरिहाल्न सकिन्न । जसले लगानी गर्छ, निर्माण गराउँछ, उसले यो ठिक, त्यो बेठिक भनेर छुट्टाउने निर्माणसम्वन्धी विशेषज्ञ होइन । कन्सल्ट्यान्टले विशेषज्ञको रुपमा क्लाइन्ट र कन्ट्राक्टरको बीचमा बसेर गल्तिलाई औंल्याउने काम गर्छ । यी तिनै पक्ष सही ठाउँमा हुँदा पनि सही गुणस्तरको काम हुन्छ । 

  • तपाईंले गुणस्तरीय निर्माणको कुरा औंल्याउनुभयो, त्यो कुरा नेपालमा पनि लागू गर्न त्यहाँको नीति निर्माण तहसम्म, सरोकारवालाहरुसम्म पुर्याउन केही पहल गर्नुभएको छ ? 

केही दिनअघि एउटा संसदीय टोली यहाँ आएको थियो । त्यो भन्दा पहिला धेरै अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई यहाँ आउँदा छलफल गर्ने र सुझाव दिने काम गरेका छौं । नेपालमा जाँदा पनि यी विषयमा कार्यक्रमहरुका कुरा हुन्छन् । अर्को कुरा लामो समयको सरकार भए न एउटा मन्त्रीले दीर्घकालिन योजना बनाएर त्यसलाई कार्यान्वयन गर्न सक्छ । हाम्रोमा सरकारको स्थायीत्व नै छैन । बजेट खर्च गर्न सकेन त्यसले पैसा सिर्जना गर्ने हो । नेपालमा छुट्टाएको पैसा नै खर्च हुनसक्दैन । कसरी विकास हुन्छ ? नियमनमा कडाई गर्नुस तर कुनै विकास निर्माणको लागि छुट्टाएको बजेट त खर्च हुनुपर्यो नि । त्यो खर्च देशमै हुने हो । जब सरकार नै दिगो हुँदैन भने हामीले दिएका यस्ता सुझावले के अर्थ हुन्छ ? पुनर्निर्माणको लागि ठूलो वैदेशिक सहयोगको प्रतिवद्धता आयो । तर अझै पनि कार्यान्वयन हुन सकेको छैन । त्यो भनेको परामर्श दिने लिने कुरामै ठूलो कमजोरी छ । परामर्शदाता नियुक्त गर्ने काम त्यत्ति ठूलो कुरा पनि होइन । एउटा घर बनाउँदा परामर्शमा पाँच दश प्रतिशत खर्च गर्नुपर्ला । त्यसले तपाईं कै घर बलियो हुन्छ । मजबुत हुन्छ । अहिले कतारमा हेर्नुभयो भने विश्वकप फुटबलका लागि नयाँ स्टेडियमहरु बनाउन अन्तर्राष्ट्रियस्तरका परामर्शदाताहरु हायर गरेको छ । यहाँको सरकारले वकिल लाखेर उनीहरुलाई कागज गरेको छ कि यो खालको निर्माण हामीलाई चाहिन्छ । त्यो तपाईंहरुले दिनुपर्छ भनेर । निर्माण गरिरहँदा त्यहाँ गुणस्तरको मात्रै कुरा छैन स्वास्थ्य र सुरक्षाका कुराहरुलाई पनि ध्यान दिएर उहाँहरुले परामर्श दिनुपर्छ । नेपालमा पनि सरकार र जनतालाई यो खालको कुराको चेतना हुनुपर्छ । स्थानीय चुनाव हुन लागेको छ । चुनाव भएपछि निर्वाचित भएर आउनेहरुसँग बसेर बरु यसरी जाँदा ठिक हुन्छ भनेर कुरा गर्न सकिन्छ । सुझाव दिने कुरामा हामी तयार छौं । 

  • नेपालमा निर्माण कार्यमा गुणस्तरको कुरालाई लिएर निर्माण व्यवसायीहरुको क्षमतामा बारम्बार प्रश्न उठने गरेको छ । ठेक्का पाउन लो–विडिङ जाने गरेको पाइन्छ । यस्तो समस्या किन नेपालमा मात्रै सुनिन्छ ? बाहिर किन सुनिदैन ? 

लो–विडिङ विश्वभर नै हुन्छ । सकेसम्म सस्तोमा काम गर्ने एउटा प्रक्रिया हो भने अर्को न्यूनतम मापदण्ड हुन्छ, त्यो लो–बिडिङले मात्रै हुँदैन । निर्माणमा केही निश्चिम नर्महरु हुन्छ । निर्माण कम्पनीले कति बर्ष काम गर्यो ? के के गर्यो ? कहाँ कहाँ गर्यो ? ताकी तोकिएको मापदण्डअनुसार काम गर्ने क्षमता राख्छ कि राख्दैन । यी कुराको डकुमेन्ट हेर्ने काम सरकारले गर्नुपर्छ । 

  • नेपालमा अधिकांश ठूला परियोजनाहरु तोकिएको समय र लागतमा बन्दैनन् । कारण के होला ? 

पहिलो कुरा त निर्माण व्यवसायी सक्षम नहुनु हो । डिजाइनमा स्टक हुन्छ । दोस्रो डिजाइन र भने तेस्रो क्लाइन्टले समयमा भुक्तानी नदिने हो । निर्माण व्यवसायीले समयमा भुक्तानी नपाउँदा, कामदार समयमा नपाउँदा, निर्माण सामग्री समयमा नपाउँदा पनि समयमा काम गर्न सक्दैन । त्यो समस्या नेपालमा छ । कानुनी अडचन पनि त्यस्तै हुन्छ । मौसमयले पनि कहिले काहाँ समस्या बनाउँछ । बर्षा, बाढि पहिलो । तर यी समस्या हुँदाहुँदै पनि सबै पक्षको समन्वयमा काम गर्ने हो भने समयमा काम गर्न नसकिने होइन । चीनमा बन्ने प्रोजेक्टहरु समयमा बन्छन् । तोकिएको लागतमा बन्छन् । हामीले अहिले कारियनसँग मिलेर काम गरेका छौं । उनीहरु पनि समयमा गर्छन डेडिकेटेड भएर । कोरियन प्रोजेक्ट म्यानेजर छ भने जति दुःख कष्ट भए पनि साइटमा गएर काम गरिरहेको हुन्छ । ओडारमै बसेर पनि काम गरिरहेको हुन्छ । त्यही एकै ठाउँमा खाएको हुन्छ । नेपाली छ भने इन्जिनियर नै पनि दुःख गर्न खोज्दैन । सुःख खोज्छ । मिठो खान खोज्छ । इन्जिनियर पास हुनलाई पढेर मात्रै हुँदैन । काम गरेर हुनुपर्छ । उसको जिम्मेवारीलाई मानिसले सम्मान गर्ने हो । नेपालमा निर्माण व्यवसायीको पनि त्यस्तै समस्या हो । डेडिकेटेड भएर काम गर्ने, समयमा मैले तोकिएको मापदण्डअनुसार काम गनुएपर्छ भन्ने भावना नै छैन । 

  • नेपालमा राम्रो काम गर्न नसकेको एउटा इन्जिनियर बाहिर आएर राम्रो काम गरेको पनि देखिन्छ । सफलता पाएको देखिन्छ । नेपालमा चाँही किन उसले गर्न सक्दैन ? 

नेपालमा जुन खालको कर्मचारीतन्त्र, जुन खालको प्रक्रिया छ, त्यो साह्रै झन्झटिलो छ । सिस्टम छैन । यहाँ कतारमा हेर्नुस । एउटा सिस्टम छ । नियम छ । सबैलाई कानुन बराबर छ । इन्जिनियरिङ विश्वभर एउटै हो । तर काम गर्ने कुरामा नेपालमा बस्दा उसले कुनै कुरा सिक्न पाउँदैन । बाहिर सिस्टममा काम गरेपछि उसलाई थाहा हुन्छ । अनुभव हुन्छ । बाताबरण हुन्छ । सरकारले सहयोग गर्छ । कम्पनीले गर्छ । हेर्नुस न भूकम्प भएको दुई बर्ष भइसक्यो, अझै मापदण्ड बनेको छैन । एउटा इन्जिनियरले माटो परीक्षण गरेर कहाँ कस्तो घर बनाउने ? कति भूकम्प प्रतिरोधको घर बनाउने भन्ने कुरा टुँगो लगाउने कुरा साधारण हो । दुई हप्तामा हुने कुरा हो । यस्तो तरिकाले हामी ठूला पूर्वाधार आयोजना, जलविद्युत आयोजना समयमा बनाउने र नेपाललाई संवृद्ध बनाउने कुरा कसरी संभव हुन्छ ? यो भनेको कहिं न कहिं नेपालको राजनीतिक समस्यासँग गएर जोडिन्छ । हरेक कुरालाई राजनीतिले गाँजेको छ । 

  • नेपालमाबाट नेताहरु, मन्त्रीहरु आइरहेका हुन्छन् । कतारलाई उदाहरण देखाएर उनीहरुलाई नेपालको विकास यसरी गर्नुपर्छ भनेर सुझाव दिनुहुन्न तपाईंहरु ? 

सन् २०१४ मा प्रधानमन्त्रीकै रुपमा हालकै प्रधानमन्त्री पुष्पकमल दाहाल कतार आउँदा मैले धेरै कुरा सेयर गरेको थिए । अहिले उहाँले ती कुरालाई कार्यान्वयन पनि गर्नुभएको छ । जुन गतिमा मेगा प्रोजेक्टहरु आफैले हेर्नुभएको छ, त्यो राम्रो तरिका हो । विश्वमै राम्रो शैली हो । यहाँ पनि हरेक निर्माण आयोजनाहरुको काम हेर्न यातायात मन्त्री आउनुहुन्छ । यसले काममा गति दिन्छ । काम गर्नेलाई हौसला दिन्छ । विगतका प्रधानमन्त्रीहरुले यसरी चासो त दिएका थिएनन् नि । यतिले मात्रै पुग्दैन । पोलिसीमा स्थिरता हुनुपर्छ । त्यो भएन भने काम राम्रो हुँदैन । समयमा बन्दैन ।

  • तपाईं गैरआवासीय नेपाली संघमा पनि आवद्ध हुनुहुन्छ । तपाईंहरु जस्ता व्यवसायीले कतारसहित खाडी राष्ट्रमा कमाएको अनुभव, पुँजीलाई स्वदेशमा भित्राउने कुरामा के काम भएको छ ? 

सीप, लगानी भित्राउने कुरामा सरकारले बाताबरण बनाएर सामुहिक लगानी भित्राउन पहल गर्नुपर्छ । कतारबाट मात्रै हुर्नृभयो भने मासिक १० अर्ब नेपाल भित्रिन्छ । सन् २०१६ मात्रै लिगल च्यानलबाट ११४ अर्ब यहाँबाट नेपाल भित्रिएको छ । त्यो भनेको महिनाको करिव नौ अर्ब । यसअघि नेपाल वायुसेवा निगमले दुई वटा जहाज किन्दा चाहिएको पैसा भनेको ११ अर्ब हो । यहाँबाट बार्षिक जाने पैसाको आधाले मात्रै नेपालमा ठूला आयोजनाहरु बन्दछन् । जुन कुरा नेपालको निजी क्षेत्रबाट संभव छैन । अहिले बनिरहेका जति पनि आयोजना छन्, त्यो पनि बाहिरबाट गएको रेमिटान्सको कारण सहज भएको हो । रेमिटान्स नजाने हो भने नेपालको स्थिति के होला ? मैले त कतारको मात्रै कुरा गरिरहेको छु । सबैतिरबाट जोड्ने हो भने सातसय अर्बभन्दा बढि हुन्छ । सरकारले एउटा कार्यदल बनाएर सामुहिक लगानी कसरी गर्ने, प्रतिफल कसरी सुनिश्चित गर्ने भन्ने कुरा गर्न ढिलो गर्न हुँदैन । त्यो फाइनान्सियल एक्सपर्टको रुपमा काम गर्नुपर्छ । रेमिटान्सलाई मोवाइल, गाडि, टिभी जस्ता वस्तु र मनोरञ्जनमा खर्च हुने अवस्था अन्त्य गर्नुपर्छ । यस्ता कुरामा खर्च भएर फेरि बाहिरिने पैसा कहिल्यै पनि फर्केर नेपाल आउँदैन । जसरी हुन्छ नेपालमै पैसा बस्नुपर्छ । भित्रै चलायमान हुनुपर्छ । त्यसले आर्थिक गतिविधि बढाउँछ । अर्थतन्त्रको विकास हुन्छ । म जस्तो ३७–३८ बर्षको उमेरको मानिस अब १०–१२ बर्षपछि नेपाल फर्किँदा पेन्सन लिएर जान्न । मैले पठाएको पैसा छोराछोरी पढाएर र विलासितामा खर्च गरेर सक्छु । म जाँदा रोग पनि सँगै जान्छ । त्यतिबेला मैले जिबिकोपार्जन गर्न, कसरी घर चलाउने भन्न, अहिले चिन्तामा परिरहेको छु  । यदी राज्यले सही तरिकाले आफै ज्ञारेन्टी बसेर मैले कमाएको निश्चित प्रतिशत सामुहिक लगानीमा लगाउनुस्, यतिबर्षपछि बर्षिक यति प्रतिफल दिन्छु भन्दा यहाँ दुःख गरेर कमाएकाहरु कस्ले हुन्न भन्छ ?


    तपाईको प्रतिक्रिया

    Copyrights © 2021 Lokpriyanews

    Thursday, Sep 16, 2021

    कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

    सम्पादक : गोविन्द शर्मा

    सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१