निकुञ्जको मुख्य कार्यालय बाहिर झण्डै एकवर्षदेखि एउटा सानो खोरभित्र बाँदर थुनिएर राखिएको छ । निकुञ्जको मुख्यालय पुग्नेहरु बाँदरबारे सोधीखोजी गर्दछन् । मानिसलाई कानून विपरित सजाय हुने काम गरेमा थुनामा राख्ने गरिएपनि जनावरलाई नै थुनामा राखिएको बिषयमा बाँके निकुञ्जमा पुग्नेलाई सुरुदेखि अन्त्यसम्ममा रोचक लाग्छ ।
बाँके राष्ट्रिय निकुञ्जमा थुनामा राखिएको बाँदर नेपालगञ्जमा एक व्यक्तिका घरमा पालिएको हो । नेपालगञ्जमा रहँदा मानिसलाई आतंकित पारेपछि घरधनीले बाँदर बाँके राष्ट्रिय निकुञ्जको जंगली क्षेत्रमा छोडेर आएको स्थानीय बासिन्दा बताउँछन् ।
त्यसपछि त्योे बाँदर शम्शेरगन्ज–ओभरीका गाउँमा पुगेर आतंक मच्चाउन थालेको छ । बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत लालबहादुर भण्डारीका अनुसार निकुञ्जको पहलमा त्यो बाँदरलाई पटक पटक घना जंगली क्षेत्रमा पुर्याएर छोडिएको हो र तर त्यसको केही दिनमै बादर फर्किएर पुनः वस्तीमा आएर सताउने क्रम जारी राख्थ्यो ।
बाँके राष्ट्रिय निकुञ्जमा थुनामा राखिनु अघि बाँदरलाई पटक पटक जंगली क्षेत्रमा छोड्दा पनि उसको आतंक जारी रहेको महादेवपुरी–७ का हर्कबहादुर बिष्ट बताउँछन् । बाँदरले घरभित्र पसेर महिला तथा बालबालिकालाई दुव्र्यवहार गर्ने, घरभित्रको सामान बिगारिदिने, च्यात्ने, अन्नपात पोखिदिने मात्रै नभई मानिसलाई घाइते हुनेगरी कुटपिट गर्ने गरेको बिष्ट बताउँछन् ।
बाँदरको पिटाईबाट महादेवपुरीका झण्डै १० जना मानिस घाइते भएको र तिमध्ये केहीको उपचार निकुञ्ज प्रशासनले गरिदिएको बिष्ट बताउनुहुन्छ । बादरको आतंकबाट गाउँभरिका मानिसलाई घरमा बस्न, आवतजावत गर्न र अन्य दैनिक क्रियाकलाप गर्न समस्या भएपछि नियन्त्रणका लागि स्थानीय बासिन्दाको अनुरोधमा बाँदरलाई निकुञ्जले थुनामा राखेको हो ।
बाँके राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय ओभरी नजिकै फलाम र काठबाट बनाइएको सानो खोरभित्र बाँदरलाई राखिएको छ । जसलाई निकुञ्जका कर्मचारीहरु थुना भन्दछन् । बाँदरलाई २४ सै घण्टा खोरभित्र राखिएको हुन्छ । बाँदरलाई खोरभित्र नै सम्पूर्ण खानेकुराको व्यवस्था गर्ने गरिएको निकुञ्जका कर्मचारीहरु बताउँछन् ।
गाउँमा मानिसलाई कुटपिट गरि घाइते बनाउने र अन्य क्रियाकलापबाट आतंकित पार्ने बाँदर थुनिएको खबर पाएमा पशु अधिकारकर्मीले पाएमा बाँदरलाई छाडा छोड्नुपर्ने हो की भन्ने चिन्ता स्थानीय बासिन्दा र निकुञ्जका कर्मचारीलाई छ । बाँदरलाई छाडा छोडेमा पुनः उसको आतंक सुरु हुने भएका कारण स्थानीय बासिन्दा र निकुञ्ज कर्मचारीलाई चिन्तित बनाएको हो । (उज्यालोे अनलाईनमा २०७४ पुस १४ गते प्रकाशित )
कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड
सम्पादक : गोविन्द शर्मा
सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१